चार महिनापछि पोखरामा हिउँदे वर्षा
पोखरा : पोखरामा चार महिनापछि बिहीबार हिउँदे वर्षाभएको छ। लामो समयपछि परेको पानीले सुकेको हिउँदे खेतीलाई केही राहात मिलेको छ। तर, कुनै क्षेत्रमा असिना समेत पर्दा तोरी, गहुँ, फापर र तरकारी बालीमा क्षति पुर्याएको छ।
पोखरा-३० गगनगौडा, पोखरा-३२ मालमुलफाँट र भरतपोखरी लगायत क्षेत्रमा बिहीबार दिउँसो वर्षासँगै असिना परेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए।
लामो समयपछि परेको पानीले सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहत मिलेपनि कतै असिना समेत पर्दा हिउँदे बालीमा क्षति पुगेको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए।
असिनाले महानगरपालिकाको कुन कुन क्षेत्रमा के कति क्षति पुग्यो भन्ने विवरण आउन बाँकी रहेको उनले बताए।
पानीसँगै असिनासमेत पर्दा मालमुलफाँटमा लगाइएको तोरी, गहुँ, फापर र तरकारी बालीमा क्षति पुगेको पोखरा महानगरपालिका-३२ का कृषि सञ्जालका संयोजक पदमराज तिवारीले बताए।
मालमुलफाँटमा बेगनास तालको पानीबाट सिँचाइ हुने भएकाले हिउँदे खडेरी भए पनि तोरी, गहुँ लगायत हिउँदे खेती राम्रो भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !