पोखरामा असिना सहितको वर्षा
पोखरा : पोखरामा आइतबार कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ।
दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएको हो। यसअघि पोखरामा बिहीबार हिउँदे वर्षा भएको थियो। त्यसपछि आइतबार ठूलो वर्षा भएको हो।
लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि यहाँको कुनै क्षेत्रमा असिना समेत पर्दा तोरी, गहुँ, फापर र तरकारीबालीलाई क्षति पुर्याएको छ।
बिहीबार परेको असिनाले पोखरा-३० गगनगौडा, पोखरा- ३२ मालमुलफाँट र भरतपोखरी लगायत क्षेत्रमा पाक्न लागेको हिउँदे खेतीलाई नोक्सान पुर्याएको थियो।
असिनाले गरेको क्षतिबारे बुझ्ने क्रममा रहेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए।
वर्षा हुँदा सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहात मिलेको भए पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए।
बिहीबार परेको असिनाले मालमुलफाँटमा लगाइएको तोरी, गहुँ, फापर र तरकारी बालीमा क्षति पुगेको पोखरा महानगरपालिका-३२ का कृषि सञ्जालका संयोजक पदमराज तिवारीले बताए।
मालमुलफाँटमा बेगनास तालको पानीबाट सिँचाइ हुने भएकाले हिउँदे खडेरी भएपनि तोरी, गहुँ लगाउत हिउँदे खेती राम्रो भएको उनले बताए।
मालमुलफाँटको करिव ४ हजार रोपनीमा खेती हुने र त्यसमा अधिकांशले तोरी खेती गर्ने गरेको पनि उनले बताए। यहाँ आलु, गहुँ, फापर, तरकारीको खेती राम्रो हुने गरेको पनि उनले सुनाए।
असिनाले कुनै क्षेत्रमा लगाइएका बालीलाई नोक्सान पुर्याए पनि लामो समयपछि परेको पानीले समग्र हिउँदेबाली, फलफूललगायत बालीलाई राम्रो भएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !