यस वर्षको पृथ्वी पुरस्कार राजेश अहिराजलाई
गोरखा : प्रदेश नम्बर २ का पूर्व प्रदेश प्रमुख डाक्टर राजेश अहिराज पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन्।
बेलायतस्थित संयुक्त राष्ट्रवादी नेपाली संगठनले शनिबार गोरखामा एक समारोह गरी उनलाई एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो।
संगठनका अध्यक्ष भरत क्षेत्रीले उक्त पुरस्कार प्रदान गरेका हुन्। ३०१ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा घोषणा गरिएको पुरस्कार प्रदान गरिएको अध्यक्ष क्षेत्रीले बताए।
कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको बारेमा लेख, रचनाहरू लेख्ने, उच्च राष्ट्र छवि भएको र विभिन्न क्षेत्रबाट राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्याएको व्यक्तिलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको अध्यक्ष क्षेत्रीले बताए। यसअघि डाक्टर सुरेन्द्र केसीलाई प्रदान गरिएको उनले बताए।
उनले नेपाल एकीकरणको क्रममा राष्ट्रनिर्माण पृथ्वीनारायण शाहले पुर्याएको योगदान तथा उनका दिव्योपदेशका बारेमा अझै धेरै छलफल र बहसहरू हुनुपर्ने बताएका थिए।
विद्यालयका पाठ्यपुस्तकमा शाहका बारेमा पर्याप्त कुराहरू नआएको बताउदै शाहले नेपाल एकीकरणमा गरेको योगदानहरू विस्तृतमा समेटिनुपर्ने बताए।
डाक्टर अहिराजले पृथ्वीनारायण शाहको दिव्योपदेशकै आधार बनाएर भारत र चीनले विकासको फड्को मारेको तर नेपालले बेवास्ता गरेकाले अहिले पिछडिनु परेको बताएका थिए।
नेपालीहरूको सोचमा साझापन नहुँदा देश विकास हुन नसकेको बताउँदै सबै जातजाति एकजुट भएर समृद्ध राष्ट्र बनाउनमा लाग्नुपर्नेमा जोड दिए।
नेपाल अविकसित नभई अव्यस्थित मुलुक बनेको उनले बताए। नेपालमा सबै कुरा भएको तर नेपालीले आफ्नो माटोको महत्व बुझ्न नसकेको उनले बताए।
उनले तत्कालीन समयमा राष्ट्रनिर्माणमा सबै जातजातिको समान भूमिका रहेकाले गोरखा संग्रहालय भित्र मिश्र, मधेसी र मुस्लिमलाई सम्बोधन हुने खालका ग्यालरी हुनुपर्ने माग गरे।
प्रतिक्रिया दिनुहोस !