महिला आन्दोलनले नै विद्या भण्डारीलाई राष्ट्रपतिको भूमिकामा पुर्यायो : ओली

महिलालाई उचाईमा पुर्याउने काम कम्युनिष्ट पार्टीले गरेको ओलीको भनाई छ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्यादेवी भण्डारी प्रथम महिला राष्ट्रपतिका भूमिकामा हुनु गौरवपूर्ण रहेको बताएका छन्। बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारी महिला आन्दोलनबाट हुर्किएर राष्ट्रअध्यक्षको भूमिकामा पुगेको बताएका हुन्।
पूर्वप्रधानमन्त्री ओलीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक भण्डारीले निभाएको उल्लेख गरे। उनले भण्डारीले पहिलो कार्यकालमा कुशल, सफल र उत्कृष्ट कार्य गरेकाले दोस्रो पटक पनि राष्ट्रपतिको जिम्मेवारी पाएको बताए। उनले भने,‘महिला दिदीबहिनी र हामी सबैलाई गौरवको कुरा हो।’
उनले भने,‘राजनीतिक स्वार्थप्रेरितहरुले आफ्ना स्वार्थमा ठेस लाग्दा वा आफ्ना संक्रिण छुद्र स्वार्थहरु पूरा नहुँदा राष्ट्रपतिको सम्मानीत ओहोदाको समेत मर्यादा नगरेर बकबास गरेका हुन्छन्। ती कुराको खास अर्थ छैन।’
ओलीले नेपालमा प्रथम महिला नेतृ धेरै रहेको उल्लेख गरे। ओलीले भने, ‘राष्ट्रपति, सभामुख, मन्त्री, उपसभामुख, प्रधानन्यायाधीश, पाइलट, नेता, साहित्यकार, पत्रकार, खेलाडी लगायत धेरै क्षेत्रमा महिलाले जिम्मेवारी पाइसकेका छन्। पाउन बाँकी एउटा प्रधानमन्त्री हो। त्यो लाइनमा पनि धेरै जना हुनुहुन्छ।’
ओलीले महिला दिदी बहिनी एक सय एक रहेको र विद्रोहको रुपमा आफूलाई शासनका विरुद्ध आफूलाई अब्बल साबित गरिसकेको स्पष्ट पारे। महिलाहरुले प्रधानमन्त्रीको तार्गेड राख्नु राम्रो भएको बताए। उनले प्रतिस्पर्धा र क्षमताका आधारमा नै महिला अगाडि बढ्नुपर्ने धारणा राखे।
महिलालाई उचाईमा पुर्याउने काम कम्युनिष्ट पार्टीले गरेको उनको भनाई छ। कार्यक्रममा महिला मुक्ति पुस्तक विमोचन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
