मुलुकको समृद्धि र विकासको भिजन एमालेसँग मात्रै छ : पूर्वमन्त्री तामाङ

रामेछाप : पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले मुलुकको समृद्धि र विकासको प्रस्ट भिजन र क्षमता एमालेसँग मात्रै भएको बताएका छन्। बुधबार मन्थलीमा एमाले मन्थली नगर कमिटीको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९) कार्यक्रममा तामाङले एमालेसँग मात्रै नेतृत्व गर्न सक्ने क्षमता रहेको बताएका हुन्।
‘मुलुकमा देखा परेका समस्याहरूको समाधान गरी समृद्धि र विकास गर्ने प्रष्ट भिजन र क्षमता एमालेसँग मात्रै छ।’उनले थपे,‘यसबारेमा जनतालाई बुझाउनका लागि पनि एमालेले दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हो।’
स्थानीय, प्रदेश र संघमै एमाले नेतृत्वमा रहँदा धेरै विकासका काम भएपनि निर्वाचनमा काम भए अनुसारको जनताले मत नदिनुको कारणको तल्लो तहमा गएर खोजी गरिने तामाङको भनाइ छ।
तामाङले माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनेपछि एमालेको साङ्गठनिक ढाँचाहरू बिग्रिएको बताए। उनले भने, ‘माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनेपछि एमालेको साङ्गठनिक ढाँचाहरू बिग्रिएको थियो। अब बिग्रिएको साङ्गठनिक पद्धति र ढाँचाहरूलाई सही ढङ्गले स्थापित गराउन मिसन ग्रासरुट अभियान महत्त्वपूर्ण हुनेछ।’
यस्तै एमालेकी केन्द्रीय सदस्य निरु दर्लामीले जनता, एमालेबीचको खाडलहरू पुर्न मिसन ग्रासरुट अभियान महत्त्वपूर्ण हुने बताइन्। वर्तमान समयमा अन्य राजनीतिक दलभन्दा जनतामा एमाले लोकप्रिय रहेपनि अझै जनता, पार्टी र पार्टीमा आबद्ध नेताहरूका बीचमा बनेका खाडलहरू पुर्न आवश्यक रहेको उनको भनाई छ । उनले भनिन्, ‘यसका लागि पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताहरूमा रूपान्तरणसहितको दृढ एकता हुन अत्यावश्यक छ।’
प्रतिक्रिया दिनुहोस !
