उपराष्ट्रपतिबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।
काठमाडौं : नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। शनिबार बिहान पार्टी कार्यालय च्यासलमा उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमालेले सचिवालय बैठक बोलाएको हो।
चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ। उपराष्ट्रपतिको उम्मेदवार तय गर्न दलहरु आन्तरिक छलफलमा जुटेका छन्।
उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। बिहीबार भएको राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार सुबास नेम्वाङलाई पराजित गर्दै रामचन्द्र पौडेल निर्वाचित भएका छन्। कानुनी व्यवस्था अनुसार खसआर्य तर्फका पुरुषले भने उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन्। राष्ट्रपतिमा पुरुष निर्वाचित भएकाले जुनसुकै समुदायका महिलाले भने उम्मेदवार दिन पाउनेछन्।
एमाले सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्ने एक पदाधिकारी बताए। उनले भने, ‘एमालेले उपराष्ट्रपतिको निर्वाचन र समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाएको हो। उपराष्ट्रपतिमा उम्मेदवार दिने/नदिने, कसलाई उम्मेदवार बनाउने भन्नेबारे भोली बिहानको बैठकमा निर्णय हुन्छ।’
प्रतिक्रिया दिनुहोस !
