त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्
गोरखा : त्रिशूलीको स्वतन्त्र वहावै रोकेर गोरखामा बालुवा निकाल्न गाउँपालिकाले नै अनुमति दिएको छ। सहिदलखन गाउँपालिका–४ करनटारस्थित ठेउवाटारघाटबाट बालुवा ढुवानी गर्ने गाउँपालिकाले नै ठेकेदारलाई अनुमति दिएको हो। अहिले ठेकेदारले गाउँपालिकाबाट ठेक्का पाएपछि ६ हजार घनमिटर बालुवा उत्खनन गर्न त्रिशूलीको बहाव रोकेको छ। यसको स्थानीयवासीले बिरोध गरिरहेका छन्। यहाँको ठेक्का सिन्धुपाल्चोकको त्रियुगा निर्माण सेवाले पाएको छ।
यसअघि धारापानीमा बनाएको त्रिशूली बाँध इच्छाकामना गाउँपालिका र वडा नं. ४ का बासिन्दाको अवरोधपछि सोही ठेकेदारले अहिले लेबाटारस्थित घाटमा धमाधम अर्को बाँध लगाइरहेको हो। त्रिशूलीको स्वतन्त्र बहावमा अबरोध गर्न नहुने इच्छाकामना गाउँपालिका तथा स्थानीयवासीको भनाइ छ। त्रिशूली नदीमाथि ह्युमपाइप बिछ्याइ अस्थायी(कच्ची) बाटो बनाएर नदीजन्य सामग्री ओसार्न नपाइने भन्दै चितवनको इच्छाकामना गाउँपालिकाले पत्र लेखेर अवरोध गरेको थियो।
‘सहिद लखन गाउँपालिकाले नदीजन्य सामग्री ढुवानी गर्ने बाटोका लागि सहजीकरण गरिदिन भनेर हामीलाई पत्र लेखेको थियो। त्यही आधारमा हामीले सुरुमा सहमति दिने निर्णय गरी पत्राचार गरेका थियौं’, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले भने, ‘तर पछि हाम्रोतर्फको सामग्री प्रयोग गर्न थाले। अनि हामीले फेरि अर्को पत्र लेखी काम रोकेका हौं।’
यसबीचमा कुरिनटारका स्थानीयवासीले आफ्नो मसानघाट नाश हुने भन्दै गुनासो गर्न थालेकाले पनि काम रोक्न बाध्य भएको उनले बताए। त्यहाँ अबरोध भएपछि पुनः सोको पाँचसय मिटर तल लेवाटारमा नदी थुन्ने प्रयास भइरहेको उनले बताए।
नदीजन्य सामग्री ओसार्न प्रयोग गर्न दिएको बाटो कुरिनटारका बासिन्दाको मसानघाट भएकाले सो बाटो प्रयोग गर्न नदिएको सो क्षेत्रबाट निर्वाचित बागमती प्रदेश सांसद कृष्ण सिलवालले बताए। ‘नदी भनेको मानव सभ्यता हो। नदीको बहाव छेकथुन गरी, धार परिवर्तन गरेर उत्खनन वा ओसारपोसार गर्नु कानुनविपरीत छ’, सिलवाल भन्छन्, ‘तर अहिले धमाधम नदी थुन्ने काम भइरहेको छ। जम्मा २० मिटर बाँकी राखेका छन्। यसले त यस आसपासका बासिन्दा र र्याफ्टिङलगायतका पर्यटन व्यवसायमा दीर्घकालीन असर गर्छ।’ ठेकेदारले कसैको कुरा नसुनी नदीको प्रवाह छेक्ने काम गरिरहेको उनको गुनासो छ।
स्थानीयवासीलाई थाहापत्तै नदिई ठेकेदारले गाउँको छेउबाट गिटी बालुवा झिक्न थालेको स्थानीय रनबहादुर राना मगरको भनाइ छ। ‘२०१८ सालमा पनि नदी गाउँसम्म आएको थियो। ५० सालमा पनि आएको थियो। अहिले जेसिबी लाएर दुई, तीन मिटर गहिरो खनेर गिटी, बालुवा निकालेपछि ६ गाउँलाई बरबाद बनाइहाल्छ नि’, उनले भने, ‘हामीलाई सोधखोज पनि भएन।
प्रतिक्रिया दिनुहोस !