१६ ओभरमा पाँच विकेट गुमाएर यूएईले बनायो ४६ रन
आजको खेलमा पराजित भए यूएईले एक दिवसीय मान्यता गुमाउने छ।
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालविरुद्ध दुई सय ४९ रनको लक्ष्य पछ्याइरहेको यूएईले १५ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर ४४ रन बनाएको छ।
नेपालको कसिलो बलिङसामू संघर्षरत यूएईका सुरुआती चार ब्याटर १० भन्दा कम रनमा आउट भए। ओपनर वृत्या अरविन्द र आर्यान लाक्रा शून्यमा पभिलियन फर्किँदा कप्तान मुहम्मद वासिम एक र ओपनर आसिफ खान ६ रन बनाएर आउछ भए।
यस्तै रोहन मुस्तफा ६ रन बनाएर आउट हुँदा आयान खान २९ र आश्वन्त भाल्थापा तीन रन बनाएर खेलिरहेका छन्।
यूएईले १६ ओभर सकिँदा पाँच विकेट गुमाएर ४६ रन बनाएको छ।
पहिलो इनिङमा रोहित पौडेलको अर्धशतकप्रेरित नेपालले यूएईलाई दुई सय ४९ रनको लक्ष्य दिएको थियो।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ४८ रनको योगफल तयार गर्यो। आठौं ओभरमा दुवै ओपनरसहित तीन विकेट गुमाएको नेपालका लागि कप्तान रोहित र भीम सार्कीले ५४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए।
भीम ३७ बलमा चार चौकासहित २९ रन बनाएर आउट भए। पाँचौं नम्बरमा क्रिजमा उत्रिएका आरिफ शेखले रोहितसँग ८६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए।
रोहित एक सय १२ बलमा ९ चौकासहित ७७ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्के। आरिफ शेख ५२ बलमा पाँच चौकासहित ४३ रन जोडेर आउट हुँदा गुल्शन झाले ३२ बलमा एक चौका र तीन छक्कासहित ३७ रनको आक्रामक इनिङ खेले।
ओपनर आसिफ शेख शून्य, कुशल भुर्तेल आठ र कुशल मल्ल ९ रन बनाएर आउट भएका थिए। सन्दीप लामिछाने दुई रनमा आउटमा हुँदा दीपेन्द्रसिंह ऐरी १९ बलमा तीन चौका र दुई छक्कासहित ३४ रन जोडेर पभिलियन फर्के। ललित राजवंशी शून्यमा अविजित रहँदा सोमपाल कामी २ रन जोडेर पेभेलियन फर्के।
यूएईका लागि आयान खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई–दुई विकेट लिए। आर्यान लाक्रा र जुनेद सिद्धिक्वीले एक–एक विकेट लिए।
यो खेलमा जित निकाले नेपालले लिग २ का दुई खेल बाँकी रहँदै एकदिवसीय मान्यता जोगाउने छ। यो योगफल जोगाउन सके नेपालको शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहने छ।
आजको खेलमा पराजित भए यूएईले एक दिवसीय मान्यता गुमाउने छ।
प्रतिक्रिया दिनुहोस !