क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने प्रहरी फन्दामा

काठमाडौं : वैदेशिक रोजगारीका लागि वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ का ४६ वर्षीय मेघलाल तामाङ हुन्।
दोमी शेर्पासमेत ३ जनालाई क्रोएसिया पठाउने भन्दै १५ लाख रुपैयाँ लिइ तामाङ फरार थिए । क्रोसिया जान ७ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १५ लाख रूपैयाँ रकम लिइ सम्पर्कबिहीन भएका थिए।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार तामाङविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । त्यसपछि वैदेशिक रोजगार विभागले अपराध अनुसन्धान कार्यालयलाई तामाङलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो ।
कार्यालयबाट खटिएको टोलीले तामाङलाई काठमाडौंको मिनभवनबाट पक्राउ गरेको हो। तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
