जलवायु संकटः सुक्दै पानीका स्रोत

जलवायु संकटः सुक्दै पानीका स्रोत

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, डाँडागाउँका बासिन्दाहरूले पुस्तौँदेखि प्रयोग गर्दै आएको पानीका मुहानहरू सुक्दै गएपछि खानेपानीको चरम अभाव झेलिरहेका छन्। २०७२ साल यता आसपासका मुहान सुकेपछि गाउँहरू काकाकुल बन्न थालेका हुन्। 
मुहानमा पानी सुकेपछि दुई घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनु उनीहरूको दैनिकी बन्यो। बोकेर ल्याएको पानी खान, नुहाई धुवाई गर्न र वस्तुभाउलाई खुवाउन सधैं अपुग भइरहन्छ। धित मरुन्जेल पानी पिउनै नपाइने अवस्था छ। ‘दिउँसो मेलापात गर्नै पर्‍यो, बालबच्चालाई बेलैमा स्कुल पढाउनै पर्‍यो। सबै काम भ्याउन उज्यालो नहुँदै बिहान ४ बजे नै गाग्रा, बाल्टिन बोकेर पँधेरामा पुग्नुपर्छ,’ अधिकांश गाउँलेको एउटै स्वरमा दुःखेसो छ– ‘धारो एउटा छ, पानी थाप्न घण्टौँ लाइन बस्नुपर्छ।’ 

लाइन कुर्दा ढिलो हुने हुँदा कतिपय निद्रा माया मारेर मध्यराति एक–डेढ बजेतिरैघरबाट निस्कन्छन्। गाउँमा पानीको अभावले पहिला गरी आएका तथा हुँदै आएका धेरै कुरा हिजोआज कथा जस्ता हुन थालेका छन्। डाँडागाउँको भूगोल दक्षिण फर्किएको हल्का भिरालो जस्तो छ। ठुल्ठूला टारबारी छन्। तर नाङ्गै। करेसा–बारी, बगैंचा कतै पनि हरियो छैन। 

‘पानी भए त हरियो परियो फलाउन हुन्थ्यो। खानलाई त गाह्रो छ पानी। आफूले तरकारी फलाउने त कल्पना मात्रै हो। पहिला यही पानी थियो, तरकारी रोपिन्थ्यो,’ स्थानीय पञ्चमाया तामाङ भन्छिन्– ‘हामी लैनो भैँसीको दूध दोएर खाएर बसेको मान्छे। अहिले त पुरै मरुभूमि झैँ भयो। यही ३ वटा बाख्रालाई पानी खुवाउन पनि आकाशको पानी जममा गरेर बस्नुपर्या छ।’ भएको यही एउटा धारामा पनि पछिल्ला वर्षहरूमा पानीको मात्रा घट्दै गएको अनुमान गरी रहेका स्थानीयहरू थप चिन्तित बन्न थालेका छन्। 

८–१० वर्ष अघिसम्म डाँडागाउँमा नियमित पानीको मुहान थियो। भैँसी खेल्ने आहाल, मान्छेका लागि धारा, कुवा थिए। हरियाली थियो। जीवन आनन्द थियो। आफ्नो गाउँको सुखी र विगतलाई यहाँका बुढापाकाहरू झलझली सम्झन्छन्। ७६ वर्षीया मंगले तामाङ विगत सम्झिँदै भन्छन्– ‘यहाँ तीन वटा आहाल थियो। चैत वैशाखमा पनि धारामा नुहाउने दुनियाँ मान्छे हुन्थे। गतिलो चहुर थियो। अहिले त्यो चौर पनि सानो हुँदै आयो। बाटो खनेर माटो हालिदिने, उता भवन घर बनाउने के के गर्दा गर्दै पानी पनि त्यसै सुक्दो रैछ। उभिएर नुहाउन हुने दुई वटा धारामा पानी ठूलै आउँथ्यो। त्यो च्याप्प सुक्यो।’   

दैनिक पानी बोक्दा स्वास्थ्यमा समस्या

पानीको अभावमा डाँडागाउँवासीको जीवन दिनदिनै कष्टकर बन्दै गएको छ। पानीको अभावसँगै अरू थुप्रै समस्या थपिएका छन्। पानी लिन घण्टौँ समय लगाउनु पर्दा बालबच्चाको पढाइमा अभिभावकले ध्यान दिन सकेका छैनन्। कतिपय बालकालकाले त घरको कामधन्दा सघाउनु पर्छ, पढ्न समय हुँदैन। गम्भीर कुरा त हरेक दिन पानीको गह्रौँ भारी बोक्दा स्वास्थ्यमा समेत जटिल समस्या देखिन थालेका छन्। यसको मारमा विशेष गरी महिलाहरू पर्न थालेका छन्। 

शरीरमा कमजोरी, पेट दुख्ने, गुप्ताङ्गबाट सेतो पानी बग्ने, आङ खस्ने, गर्भ तुइनेजस्ता समस्याहरू आमरुपमा देखा परिरहेको स्थानीयको गुनासो छ। बलेफी डाँडागाउँकी मान्जी तामाङले आफ्नो पीडा सुनाउँदा आशु थाम्न सकिनन्। रुँदै उनले भनिन्– ‘म त मरेर बाँचेको। सात–सात महिनाको मेरो ३ वटा बच्चा खेर गएको हो। बोक्नु पर्छ उ त्यत्रो त्यत्रो बाल्टिन। सबैको दुःख यस्तै छ। कमजोर भएँ। पाठेघरमा घाउ भएर औषधि खाँदै ठीक हुन्छ। पानी बोकेर ल्याउँदा त आङ झर्ला जस्तो हुन्छ। बस्यो आराम गर्‍यो केही हुँदैन।’

चौतारा अस्पतालमा आउने अधिकांश महिला बिरामीमा आङ खस्ने, गर्भ तुइने, ढाट पेट दुख्ने समस्या पाइएको अस्पतालका डा. रुद्रमणी भण्डारी बताउँछन्। ‘सबैको एउटै प्रकृतिबाट यस्ता लक्षण नदेखिएका पनि हुन सक्छन्’, उनले भने– ‘तर हामीले बिरामीसँग सोधपुछ गर्दा अधिकांशले टाढाबाट पानी बोक्नुपर्ने, खेतबारीमा गरुङ्गो काम गर्नुपर्ने समस्या सुनाउँछन्।’ 

बढ्यो पानीको मूल सुक्ने क्रम 

पछिल्ला वर्षहरूमा सिन्धुपाल्चोकका बलेफी, सुनकोशी, इन्द्रावती, चौतारा, साँगाचोकगढी, मेलम्ची, बाह्रविसे, लिंसखुपाखरजस्ता पहाडी भू–भागमा मूल सुक्ने समस्या गम्भीर रूपमा बढेको छ। सुक्खायाममा यी ठाउँहरूमा बर्सेनी मुहान सुक्दा र पानीको मात्रा घट्दा स्थानीयले आर्थिक, सामाजिक, जनस्वास्थ्य लगायतका समस्या बेहोर्नु परिरहेको छ। अब पनि पानीका परम्परागत स्रोत ताल र आहालहरूकोसंरक्षण नगर्ने हो भने समस्या झन कहालीलाग्दो बन्दै जाने निश्चित छ।

यस परिस्थितिबाट जलवायु परिवर्तनको असरका क्षेत्रमा काम गर्दै आएका जानकारहरू चिन्ता व्यक्त गर्छन्। ‘हाम्रा बस्ती नजिकका पानीका स्रोतहरू पोखरी, दह, तालजस्ता आकाशे पानी जम्मा गरेर जमिनमुनि पानी पठाउने परम्परागत संरचनाको विनाश हुँदा निरन्तर पानी आउने मुहान सुक्दै गएका छन्’, जलवायु विज्ञ मधुसूदन सापकोटा भन्छन्– ‘पानी मुहानको संरक्षण गर्न तथा परापूर्व कालदेखिका मूल, कुवा, पँधेराको मर्मत सम्भार तथा संरक्षणमा भने स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन। पुराना पोखरी पुनः स्थापना, आकाशे पानी संकलन, मूल पुनर्भरणका कार्यक्रम सुरुवात कतै कतै गरे पनि महत्वपूर्ण पुनर्भरण क्षेत्रको पहिचान गरी प्रभावकारी कार्यान्वयन अघि बढाएको भने पाइँदैन।’ 

५१ तालमा पानी घट्दै 

सिन्धुपाल्चोकमा रहेका २४ वटा हिमताललाई गणना नगर्ने हो भने ५१ वटा ताल र पोखरीहरू अझै कायम छन्। यी पोखरीहरूमा क्रमशः पानीको मात्रा घटिरहेको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका स्थित प्राचीन रैथाने पोखरीमा पानी घट्दै गएको स्थानीय बताउँछन्। ८४ वर्षीया खीलबहादुर खड्का पोखरीमा पानीको आधा मात्रा घटेको बताउँछन्। ‘हामीले देख्दा पोखरीको डिलसम्मै पानी थियो, तर अहिले घटेर पिँधमा पुगेको छ,’ उनले सुनाए।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले रैथाने पोखरीको संरक्षणमा पालिका जुटिरहेको बताए। ‘हामीले पोखरी संरक्षणका लागि तारबार पनि लगाएका छौं’, उनले भने– तर पनि पोखरीमा पानी घट्दै गइरहेको छ।’ ५ ० वर्ष अघिसम्म यो क्षेत्र वरिपरि ५३ वटा साना ठूला पोखरी र आहालहरू रहेको लामाको भनाइ छ। तर धेरै पोखरीमाथि अहिले विद्यालय भवन, सरकारी कार्यालय र निजी घरहरू बनिसकेका छन्।

पानीका मुहान संरक्षण कार्यमा सक्रिय रैथानेका सुन्दर सापकोटा ४० वर्षको भए। आफू ले बाल्यकालमा देख्दै आएका केही पोखरी क्रमशः हराउँदै गएको देखेका सापकोटालाई पानीको मूलका मुख्य स्रोत पोखरीलाई कसरी जोगाउने भन्ने चिन्ता छ। ‘अधिकांश ठाउँमा पोखरी पुरेर खेतबारी बनाएका छन्। नापी नक्सा सबै प्रमाण पुगेको छ अनि पोखरी पुरेका छन्। यहाँका पोखरी त्यही भएर सक्केका हुन्,’ रैथाने पोखरी संरक्षण समितिका अध्यक्ष सापकोटा भन्छन्– ‘थुप्रै पोखरीहरूमा एक थोपा पनि पानी नभएर चउर बनेका छन्।’

मुहान संरक्षणको बेवास्ता

सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च सिन्धुपाल्चोकले गरेको अध्ययन अनुसार यो जिल्लामा औसत १८ दशमलव ७५ मिलिमीटर प्रतिवर्षको दरले पानी घटिरहेको देखाउँछ। दुई लाख ६२ हजार जनसंख्या रहेको सिन्धुपाल्चोकका अधिकांश गाउँ बस्तीमा पानीका मूल हराउँदै गएका छन्। तर मूल सुक्दा खानेपानीको समस्या भोग्न बाध्य जनसंख्या कत्रो छ भन्नेसम्म पनि कतै अध्ययन भएको पाइँदैन। 

मूलको जलाधार क्षेत्र आहाल र परम्परागत पोखरीहरू विकासका नाममा नासिएका र पानीको मूलसँग पोखरी र आहालको सम्बन्धका ज्ञानलाई आधुनिक विकासका नाममा नास गरिएका विषयमा जिल्ला खानेपानी कार्यालयका पदाधिकारीहरू पनि सहमत छन्। जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सिन्धुपाल्चोकका अनुसार वातावरणीय अध्ययन पश्चात् मात्रै ग्रामीण वा सहरी सडक आयोजनाको काम सुरु गर्नुपर्ने भए पनि अहिलेसम्म त्यस्तो कार्यक्रम छैन। 

पछिल्लो समय खानेपानीको मुहान हराउँदै जाँदा नयाँ मुहान खोजी गर्न खानेपानी योजनाको काम गर्न भन्दै नागरिकहरू कार्यालयमा पुग्ने गर्दछन्। यस्ता ठाउँमा करोडौँ बढी लागतमा लिफ्टिङ आयोजनाको काम हुन्छ तर पुराना पोखरी पुनर्स्थापना, आकाशे पानी संकलन, मूल पुनर्भरणका कार्यक्रम भने छैन। 

‘हाम्रा पानीका मूल हराउँदै छन्। ऐतिहासिक पोखरी, कुवा, आललाई पुरानै स्वरूपमा फर्काउन हराइसकेका पोखरी ब्युँताएर  संरक्षण गर्नु आवश्यक छ’, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ भन्छन्– ‘पानी जोगिए मानिस जोगिन्छौँ। यो विषयमा अब हामी काम गर्न चाहान्छौँ।’ पहिले पानी जम्ने पोखरी माथि हिजोआज सडक, विद्यालय, खेल मैदान निर्माण भएका कारण पनि पानी घट्ने क्रममा वृद्धि भएको उनको बुझाइ छ। 

कृत्रिम पोखरी निर्माण 

अरूको मुख ताक्दा आफैं दुःख पाइने भएपछि पाँच वर्षदेखि चौतारा साँगाचोकगढी नगरपालिकाले जमिनमा पानी पुनर्भरणका लागि पानी जमाउन कृत्रिम पोखरी निर्माण अभियान सञ्चालन गरेको छ। हालसम्म स-साना ४० वटा आहाल निर्माण भइसकेका छन्। भल र आकाशे पानी जम्मा गर्न जङ्गल क्षेत्रमा यस्ता पोखरीहरू निर्माण गरिएका छन्। एउटा पोखरीबाट भरिएर बगेको पानी अर्को पोखरीमा जाने गरी निर्माण प्रविधि पनि मिलाइएको छ। 

‘पानीको जोहो गर्न बर्खामा जमेको पानीलाई रिचार्ज गरेर जमिनमुनि पठाएर हेरौँ भनेर हामीले सुरुमा श्रमदानमा आधारित अभियान सुरु गर्‍यौं’, पानी संरक्षण अभियानका अगुवा तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ का वडाध्यक्ष रोशन गिरीले भने– ‘तर, मान्छे आउन नमानेपछि पिकनिकका रूपमा बोलाएर कोदालो खन्ने चिज व्यवस्था गराएर हामीले सुरु गरेको अभियान अहिले विस्तार हुन पुगेको छ।’ 
स्थानीयले पाँच वर्षदेखि डाँडा, डाँडामा पोखरी बनाएर पानी सङ्कलन गर्न थालेपछि अहिले यस क्षेत्रमा नयाँ नयाँ बिरुवाका प्रजातिहरू देखिन थालेका छन्। पहिले सुक्खा भएर कठाङ्ग्रिएका बिरुवाहरू हलक्क बढेको गिरीले बताए। रिचार्ज पोखरी निर्माण गरिएपछि यही वडाकै मृत अवस्थामा पुगेको गोचे पँधेरामा पुनः मूल फुटेको छ। स्थानीय विधिबाट बनाएका यस्ता पोखरी एक पटक निर्माण भएपछि ५० वर्षसम्म काम गर्ने अध्यक्ष गिरीको भनाइ छ। 

खस्कँदो वातावरण र जलवायु परिवर्तनका असरहरूबाट स्थानीय पीडित हुनु नपरोस् भनी पानी जम्मा गर्ने पोखरी निर्माण कार्य प्रभावकारी बन्न थालेपछि परम्परागत ज्ञानप्रति स्थानीयको विश्वास जागेको छ। जलवायु परिवर्तनलाई अनुकूलन गर्दै जीवन निर्वाहलाई सहज बनाउन हामी कहाँ भएका पानीका मुहानका स्रोत पोखरी र आहालहरू संरक्षण गर्नु बाहेक अर्को विकल्प नरहेको भन्दै गिरीले पानीका स्रोत संरक्षणको अभियान अघि बढाउन सके मात्रै समस्या सुल्झन सक्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.