छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं : प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। बुधबार र बिहीबार दुई दिनको अवधिमा लागुऔषधिसहित १४ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ भुताहा र काभ्रेको सिमानाबाट दुईजना पक्राउ परेका छन्। अवैध लागुऔषध गाँजा करिब ७६ केजी ५ सय ग्रामसहित सर्लाही हरिवन नगरपालिका-२ बस्ने २३ वर्षीय प्रलात कुमार थोकर र सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय देउकुमार स्याङ्तान रहेका छन् ।
प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले क्यानसिरबाट भुताहातर्फ आउँदै गरेको प्र.०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाइकलबाट १ वटा बोरा र हाल नम्बर नखुलेको मोटरसाइकलमा ल्याएको १ वटा बोरा गरी दुवै बोराबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो ।
प्रहरीले जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा सवार दुईजनाले प्रहरी टोलीलाई देख्नासाथ उक्त गाँजाको बोरा फाली मोटरसाइकल सहित फरार भएका थिए । प्रहरीले प्र.०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाइकलमा सवार प्रलात कुमार थोकर र देउकुमार स्याङ्तानलाई पक्राउ गरेको छ भने हाल फरार नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।
कैलाली,धनगढी उपमहानगरपालिका-४ यातायात कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय ५० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय नरेश खड्का, ३० वर्षीय लक्ष्मण खड्का र सोही उपमहानगरपालिक-११ बस्ने ३० वर्षीय देबेन्द्र खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन १ सय ६० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् ।सोही नगरपलिका-१ राजिपुर बस्ने २४ वर्षीय आबिनाश चौधरी र २२ वर्षीय बिक्रम चौधरी लागुऔषधसहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले बा.५४ प ४४८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा,वीरगंज महानगरपालिका-३१ मिलनचोकबाट अवैध लागूऔषध गाँजा २४ केजीसहित सोही महानगरपालिका-३२ टेढा बस्ने वर्ष ५४ वर्षीय रमतुल्ला मियासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ जाँदै गरेको ना.२ ह ३०८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, पर्सा, पटेर्वासुगौली गाउँपालिका-३ सोनवर्सा बस्ने ३८ वर्षीय जैनुल होदाको घरबाट अवैध लागूऔषध गाँजा २९ किलोग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जैनुल र मकवानपुर लाउती गाउँपालिका-३ बस्ने ५० वर्षीय रामजी थिङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी,धरान उपमहानगरपालिका-१५ स्थित कोकोनट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगर ३ सय मिलिग्राम, नियन्त्रित औषधि ट्रामाडोल ४० ट्याव्लेट, स्पास्पेइन ४० ट्याव्लेट र नगद ६० हजार ३ सय ५० रुपैयाँसहित सोही उपमहानगरपालिका-५ घर भई हाल सोही ठाउँ बस्ने २७ वर्षीय जेल्स राईलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस !
