शिक्षामा राजनीतिको सेप
गएका १४ वर्ष जसै त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भएन, क्याम्पसहरू शान्त थिए। जसै चुनाव सुरु भयो, अशान्ति र अराजकता प्रकट भइहाल्यो। शैक्षिक वातावरण धमिलिएन मात्रै तोडफोड भए। क्याम्पसभित्रै खुकुरी नाचे। विद्यार्थीका हकहित र शैक्षिक वातावरण सहजीकरणका लागि स्थापित स्ववियु सबैभन्दा बाधक नै आफ्नै उद्देश्यमाथि देखिन्छ। चुनावका नाममा विद्यार्थी संगठनहरूले गरिरहेका गतिविधि सामान्य चुनावी प्रतिस्पर्धामा सीमित छैनन्।
तालाबन्दी, हडताल, तोडफोड र गुन्डागर्दीजस्ता विद्यार्थीका गतिविधिले वास्तवमा स्ववियुको औचित्यमाथि नै प्रश्न उठाएका छन्। विद्यार्थी संगठनबीचको निर्वाचनमा पनि ठूला चुनाव र आमनिर्वाचनमा जस्तो तडकभडक र प्रचारबाजी कुनै पनि अर्थमा स्वाभाविक छैन।
२००७ सालअघिको जयतु संस्कृतम् होस् या २०३६ सालको आन्दोलन होस् या २०४६ र २०६३/६३ को दोस्रो जनआन्दोलन सबैजसोमा विद्यार्थीको योगदान छ। त्यसमाथि निरंकुश पञ्चायतकालमा खुला राजनीति नहुँदा विद्यार्थी मोर्चाबाट प्रजातान्त्रिक आन्दोलन अघि बढाउन स्ववियु प्रभावकारी मञ्च थियो। तर, पछिल्लो समय जसै लोकतन्त्र स्थापित भयो, विद्यार्थी संगठनहरूकै आवश्यकतामाथि नै प्रश्न छ। मूल राजनीतिक पार्टीहरूले शिक्षा क्षेत्रमा आफ्नो पकड जमाउने अस्त्रका रूप विद्यार्थी संगठन बनाएका छन्। तिनले स्ववियु निर्वाचनमा पनि हस्तक्षेप गर्दा माहोल झन् बिग्रिएको छ र चैत ५ गते निर्धारित त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालय अन्तर्गतका थुप्रै क्याम्पसमा निर्वाचनसमेत हुन सकेन। विश्वविद्यालयहरूमा चरम बेथिति छ।
शैक्षिक क्यालेन्डर बनेर कार्यान्वयन नहुनु, बेलामा परीक्षा नलिनु, नतिजा नआउनु र पढाइ नहुनुमात्रै होइन, विश्वविद्यालयहरू खोजअनुसन्धानमा केन्द्रित नहुनु सामान्य छ। त्यसबारेमा विद्यार्थी संगठनहरूले कहिल्यै आवाज उठाएका हुँदैनन्। उनीहरूको ध्यान विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिमा आफ्ना माउपार्टीलाई फाइदा गराउनेतिर मात्रै छ। विद्यार्थीको पक्षमा खासै कुनै कर्म गरेको नदेखिने तर माउपार्टीहरूको पक्षपोषणका लागि उद्यत रहने विद्यार्थी संगठनका लागि स्ववियु किन चाहियो ? प्रश्न जायज छ।
अर्काेतिर स्ववियुमा निर्वाचित हुनु पनि विद्यार्थी नेताहरूको आफ्नै राजनीतिक भविष्यको रोटी सेक्नुमात्रै छ। स्ववियु भ्रष्टाचार र राजनीतिक छक्कापञ्जाको प्रयोगशाला मात्रै भएकोमा पनि शंका छैन। राजनीतिक संगठनका लागि मात्रै फाइदाजनक स्ववियुको औचित्यमा प्रश्न छ। स्ववियु विशुद्ध विद्यार्थीका शैक्षिक हकहितमा केन्द्रित नभएसम्म यसको औचित्य सावित हुँदैन।