बलात्कार गरी बालिकाको हत्या गर्ने यादवलाई जीवित रहेसम्म कैद सजाय

बलात्कार गरी बालिकाको हत्या गर्ने यादवलाई जीवित रहेसम्म कैद सजाय
सप्तरी जिल्ला अदालत। तस्बिर : मनोहर पोखरेल
सुन्नुहोस्

राजविराज : बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या गर्ने अभियुक्तलाई अदालतले बुधबार जिवित रहेसम्म जन्मकैदको सजाय गरेको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटेलका १९ वर्षीय रोहितकुमार यादवलाई सो सजाय गरेको हो। 

अदालतका इजलाश अधिकृत कुमार सुबेदीका अनुसार अभियुक्तलाई ६ लाख रुपैयाँ जरिवाना तिराउन र १ लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत फैसला भएको छ।

बालिकाको बलात्कारपछि गाउँमा हल्ला हुने डरले यादवले हत्या गरेको पुष्टि भएको छ। गाउँकै ९ वर्षीया शिवानी आफ्नी ५ वर्षीया बहिनीसँग बाख्रा चराउँदै घाँस काट्न गएकी थिइन्। सिमसिम पानी पर्न थालेपछि बहिनीलाई उनले घर पठाइन्। डाक्नेश्वरी नगरपालिका-३ हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा हावाले आँप झारेको देखेर उनी आँप टिप्न लागिन्। पछि लागेका अभियुक्तले आँप टिपिदिने लोभ देखाए। त्यर्ही बहानामा सुनसान देखेर बालिकाको बलात्कार गरे। अबोध बालिकाले रुँदै घरपरिवारमा घटनाबारे भनिदिने बताइन्। आरोपितले प्रलोभन, धम्की, डर देखाए पनि एकोहोरो बालिकाले आमालाई भनिदिने बताइरहिन्। त्यसपछि पोल खुल्ने डरले बालिकाले घाँस काट्न ल्याएको हँसियाले नै उनको घाँटी काटेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।  

प्रहरीका अनुसार हत्या गरेको स्थानबाट दुई मिटर माथि घिसारेर लगेको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो। बालिकाको दुई खुट्टाको बीचमा हँसिया गाडिएको थियो। घटना अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर मगाइएको थियो। घटनापछि तत्कालीन एसपी राजेन्द्रप्रसाद धमलाको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनाका इन्स्पेक्टरसहितको टोलीले गहिरो अनुसन्धान गरेपछि आरोपित असार ६ गते पक्राउ परेका थिए। 

पीडितको हँसियाले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परे पछि पीडितका बुबाले इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा उजुरी दिए। पक्राउ परेका आरोपित अदालतको आदेशमा ०७८ साउन ३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ४१ मा जघन्य कसूरदारलाई जीवित रहेसम्म कैद गर्ने व्यवस्था गरिएको छ। क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा विष्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीरिक बन्धक लिई ज्यान मारेको, सार्वजनिकरूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसूर गरेको वा बलात्कार गरी ज्यान मारेको कसूरमा जीवित रहेसम्म कैद गर्नुपर्ने व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.