भद्रगोल विराट गोल्डकप

भद्रगोल विराट गोल्डकप
सुन्नुहोस्

विराटनगर : विराटनगरमा बिहीबारबाट सुरु हुन लागेको सातौं संस्करणको रात्रीकालीन विराट गोल्डकपको आयोजना भद्रगोल बनेको छ। 

आवश्यक समन्वय र व्यवस्थापनको अभावमा विराटनगरको ऐतिहासिकतासँग जोडिएको गोल्डकपको आयोजना भद्रगोल बनेको हो। गोल्डकप ट्रष्टभित्रको आन्तरिक विवादका कारण आयोजक समितिले सबै पक्षलाई समेट्न नसक्दा आयोजना भद्रगोल बनेको सरोकारवालाहरूले बताएका छन्। 

सामाजिक सञ्जालमा सरोकारवालाहरूले चर्को असन्तुष्टि समेत व्यक्त गरेका छन्। विराटनगरका मेयर नागेश कोइरालाको संयोजकत्वमा पहिलोपटक हुन लागेको गोल्डकपले विराटनगरको ऐतिहासिकतालाई जोगाउन नसक्ने देखिएको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदीप भगत थारुले बताए। उनले भने, ‘युवाहरूलाई नयाँ प्रविधि अपनाउन खोजेका हुन्। तर, केही कमजोरी भए। समयमै सच्याउनुपर्थ्यो।’

प्रदेश खेलकुद विकास बोर्डले गोल्डकप आयोजनाका लागि १२ लाख बजेट विनियोजन गरेको छ। तर, आवश्यक प्रचारप्रसारको अभावमा विराटनगरबासीले गोल्डकप बारे जानकारी समेत पाएका छैनन्। 

स्थानीय सञ्चारमाध्यममा विज्ञापन र प्रचारप्रसार नगर्दा स्थानीयलाई गोल्डकपबारे अत्तोपत्तो छैन। 
स्थानीय मञ्जित राजवंशीले भने, ‘यसअघिका वर्षहरूमा बिहानदेखि बेलुकासम्म जताततै गोल्डकप मात्रै सुन्न पाइन्थ्यो। यसपटक केही थाहा छैन। कहिलेदेखि हो ? कति बजे हो ? केही जानकारी छैन।’

गोल्डकपको हुँदैछ भन्ने थाहा पाएका विराटनगरवासी पनि फाइनल खेल मात्र हेर्न जाने विचारमा छन्। अन्य वर्षहरूको तुलनामा यसपटकको टिकट दर ह्वातै बढाइएको हुनाले फाइनल चरणको खेल मात्र हेर्न जाने उनीहरूको तर्क छ। 

गोल्डकपको तयारीबारे जानकारी दिन सोमबार विराटनगरमा आयोजक समितिले पत्रकार सम्मेलन गरेको थियो। चैत्र १७ गतेसम्म चल्ने गोल्डकपमा घरेलुसहित नेपाली र विदेशी गरी कुल ८ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको थियो। 

आयोजकले प्रतियोगितामा सहभागी हुने दर्शकले क्वाटरफाइनल खेलसम्म २०० रुपैयाँ प्रतिगोटा र त्यसपछि खल्ती एपमार्फत् ४०० र रंगशालामै ५०० का दरले टिकट खरिद गर्न पाइने जनाएको थियो। 
तर, टिकट दर महंगो भएको भन्दै स्थानीयले प्रतियोगिता नै हेर्न नजाने बताएका छन्। यसपटकको गोल्डकपमा विद्यार्थीहरूका लागि समेत आवश्यक छुट तथा सहुलियतको व्यवस्था नगरिएको विराटनगर–१२ निवासी मिकेन श्रेष्ठले बताए। 

‘गोल्डकप आयोजना गर्नुभन्दा त बरु अझै एकपटक एक्स्पो लगाइदिए हुन्थ्यो। कम्तीमा टिकट त सस्तो थियो,’ उनले भने, ‘यसपटकको गोल्डकप खेल क्षेत्रको विकास र विराटनगरको ऐतिहासिकता संरक्षणको साटो कमाउने विषयतर्फ केन्द्रित देखिन्छ।’

यसपटकको गोल्डकपले स्थानीय सञ्चारमाध्यमसँग समेत आवश्यक समन्वय गर्ने प्रयास नगरेको भन्दै पत्रकारहरूले पनि गुनासो पोखेका छन्। औपचारिक कार्यक्रमको सामान्य जानकारी पनि सञ्चारमाध्यममा पुगेको छैन। गोल्डकप विराटनगरमा आयोजना गरेर व्यवस्थापनका अन्य सबैचिच केन्द्रिकृत गर्ने प्रयास गरिएको भन्दै पत्रकारहरूले विरोध गरेका छन्। 

विज्ञापनदेखि पास वितरणसम्म स्थानीय सञ्चारमाध्यमलाई उपेक्षा गर्न खोजिएको आरोप पत्रकारहरूको छ। सामाजिक सञ्जालका पत्रकारहरूको चर्को असन्तुष्टि सजिलै देख्न सकिन्छ। 


प्रेस चौतारी मोरङले बिहीबार एक विज्ञप्ति जारी गर्दै गोल्डकप आयोजक समितिले पत्रकारिता क्षेत्रलाई उपेक्षा गर्न खोजेको भन्दै आपत्ति समेत जनाएको छ। चौतारीले स्थानीय सञ्चारमाध्यम र पत्रकारहरूप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने भन्दै आयोजक समितिको ध्यानाकर्षण समेत गराएको छ।

प्रतियोगिताबारे चौतर्फी आलोचना भएपछि अन्नपूर्णसँग कुरा गर्दै विराट गोल्डकपका सह–संयोजक सुभाषिश कोइरालाले व्यवस्थापनमा केही कमजोरी भएको भन्दै त्यसलाई सुधार गर्ने प्रयास भइरहेको बताए। 

उनले विगतका वर्षहरूभन्दा केही नयाँ र फरक गर्ने प्रयास गरिएकोमा ट्रष्टभित्रकै असहयोगका कारण समस्या उत्पन्न भएको जिकिर गरे। उनले भने, ‘जे भयो भईहाल्यो। हामी मिलाउँदैछौं।’
विराटनगरको शहिद रंगशालामा हुन लागेको गोल्डकपको उद्घाटन बिहीबार साँझ हुँदैछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गोल्डकप उद्घाटन गर्ने तयारी रहेको बताइएको छ। गोल्डकपमा भने ३ विभागीयसहित नेपालका ६ र विदेशका दुईवटा टिमको सहभागिता रहने जनाइएको छ।

विराटनगरमा वि.सं. २०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ। 

महेन्द्र गोल्डकपका नाममा २७ औँ संस्करणसम्म प्रतियोगिता आयोजना भएपछि २०६८ सालबाट नाम परिवर्तन गरेर गोल्डकप आयोजना हुँदै आएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.