प्राचीन सिद्धपोखरीमा बढ्दै पर्यटक
भक्तपुर : भक्तपुरको प्राचीन तथा ऐतिहासिक सिद्धपोखरी अवलोकन गर्न देश तथा विदेशका पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ।
पोखरीको मनोरम दृश्य अवलोकन तथा पूजापाठ गर्न भक्तजनहरू आउने गरेका हुन्। इन्द्रजात्रामा यहाँ मेला लाग्छ।
धार्मिक तीर्थस्थलका रूपमा रहेको प्रसिद्ध प्राचीन सिद्धपोखरीमा भाद्र शुक्ल पूर्णिमाको अवसरमा हरेक वर्ष इन्द्रजात्राको दिन साँझ दिपावली गरी इन्द्रायणी देवीको पूजा गरिन्छ। राति ईन्द्रायणी देवीको सिद्धपोखरी प्रवेशसँगै मेला भर्नेको भिड लाग्छ।
झण्डै एक हजार वर्ष पुरानो जीवित इतिहास बोकेको सिद्धपोखरी भक्तपुर नगरपालिका-१ मा अवस्थित छ। सिद्धपोखरीलाई इन्द्रदहका नामले पनि चिनिन्छ।
भक्तपुर नगरपालिका–१ मा चारवटा पोखरी छन्। त्यसमध्ये सिद्धपोखरी ठूलो रहेको वडाध्यक्ष श्याम कृष्ण खत्रीले बताए। उनले भने, ‘भक्तपुर जिल्ला क्षेत्रफलले सानो छ। तर, यहाँ ऐतिहासिक मठमन्दिर, पाटीपौवा छन्। हाम्रो जिल्ला प्राकृतिक एवम् पर्यटकीय दृष्टिले निकै चर्चित मानिन्छ।’ घुम्न आउने पर्यटकको सुविधाका लागि पर्किङको पनि व्यवस्था गरिएको उनले बताए।
पोखरीको किनारमा बिहानदेखि साँझसम्म मानिसको चहलपहल हुन्छ। कोही मर्निङवाक गर्न आउँछन् भने कोही भ्रमण गर्न त कोही स्वच्छ हावा खान आउने गरेको काउन्टरका कर्मचारी श्रीकृष्ण बखुन्छेले बताए। ‘विदेशीहरू ठूला पोखरी हेर्न आउँछन्। यहाँको स्वच्छ र सुन्दर वातावरणले उनीहरूलाई लोभ्याउँछ’, उनले भने, ‘उनीहरू पोखरीमा नौका बिहार गरेर रमाउँछन्।’
पहिले सिद्धपोखरी घाँसे मैदान जस्तै थियो। संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारको अभावले ऐतिहासिक सिद्धपोखरी भक्तपुरमै हराइरहेको थियो। २०३८ सालमा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीबाट जनप्रतिनिधिहरू आएपछि पोखरीको जीर्णोद्धार गरेको वडाध्यक्ष खत्रीले बताए।
इन्जिनियर रामगोविन्द श्रेष्ठका अनुसार सिद्धपोखरीको इतिहास नाग सर्पसँग जोडिएको थियो। पौराणिक किम्वदन्ती अनुसार खेतबाट फर्किने क्रममा एकजना किसान बुढाबुढी सिद्धपोखरीमा खुट्टा धोएर पाटीमा आराम गरिरहेका थिए।
बुढाले आफ्नी बुढीलाई भनेछन्, ‘म नाग बन्न सक्छु’ तर, बुढीले विश्वास गर्दिनन्। एकैछिनमा बुढा नाग बनेपछि बुढी अचम्ममा पर्छिन्। बुढी डराएर भाग्छिन्। त्यसै दिनदेखि यहाँ नागको बास रहेको भन्ने सुनिन्छ।
भक्तपुर–१ मा रहेका चार पोखरीमा सिद्धपोखरीसहित रानीपोखरी, भाज्य पोखरी र नपुखु पोखरी हुन्। रानीपोखरी नागको टाउको हो भने सिद्धपोखरी शरीर र नःपुखु पुच्छर हो।
सिद्धपोखरी एक ऐतिहासिक विश्लेषण नामक पुस्तकमा सिद्धपोखरीका बारेमा चर्चा गरिएको छ। डा. पुरुषोत्तम लोचन श्रेष्ठले लेखेको उक्त पुस्तकमा भनिएको छ, ‘सिद्धपोखरी नेपालको प्राचीन सरोवरमध्ये एक हो। वर्तमान समयसम्म पनि प्रचलित रहँदै आएको यस परम्परागत इन्द्रदहमा रहेको शिलालेख (उत्तर लिच्छविकालीन)मा यसको नाम इन्द्रसरोवर थियो भन्ने भनाइ गोपाल वंशावलीमा उल्लेख छ।’
ऐतिहासिक सम्पदा संरक्षण योजना अन्तर्गत भक्तपुर नगरपालिकाले सिद्धपोखरीको संरक्षण, सम्वर्द्धन र विकासका लागि काम गरिरहेको छ।
चारजना कर्मचारी राखेर सिद्धपोखरीको व्यवस्थान र सञ्चालन गरिएको छ। पर्यटकको भिड बढेपछि वडा कार्यालयले रानीपोखरी, भाज्यापोखरी र नपुखुको पनि जीर्णोद्धार थालेको छ। भाज्य पोखरीको पुनर्निर्माणपछि उद्घाटन गर्ने तयारी पनि छ।
२०७४ सालमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि भक्तपुर नगरपालिकामा मठ, मन्दिर, पाटीपौवाको संरक्षण, सम्वर्द्धनको काम अघि बढाइएको थियो। ६ वर्ष अघि सिद्धपोखरीको मर्मत सम्भार गरेपछि पोखरी हेर्न आउने स्थानीय तथा पर्यटकको भिड बढ्न थालेको वडाध्यक्ष खत्रीले बताए।
पोखरीको अधिकांस किनारमा खुट्किला बनाइएको छ। बाटामा ढुंगा छापिएको छ। बाँकी रहेका केही ठाउँमा यस वर्षको बजेटबाट ढुंगा ओछ्याउने वडा कार्यालयले लक्ष्य राखेको छ।
प्रशिक्षार्थी