बाघको आक्रमणबाट कञ्चनपुरमा महिलाको मृत्यु
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ । भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।
'पारि एसएसबीको नं. ८ क्याम्पबाट करिब डेढ किलोमिटरभित्र जङ्गलमा यहाँबाट सात–आठ जना महिला घाँस काट्न गएका रहेछन्,'उनले भने, 'सोही क्रममा कलशालाई बाघले आक्रमण गरेको हो ।'
प्रहरीका अनुसार अन्य महिला सकुशल छन् । प्रहरीले मुचुल्कालगायतको प्रक्रिया सकेपछि शव नेपाल प्रहरीलाई बुझाउने प्रमुख प्रहरी निरीक्षक मल्लले बताए । 'शव आजै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर परीक्षण गर्ने तयारी छ,'उनले भने,'मतृकको घाँटी र टाउको गहिरो चोट देखिएको छ ।'