नक्कली शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै करोडौं ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै करोडौं ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई आइतबार ललितपुरको थापाखेल क्षेत्रबाट पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए।
पक्राउ पर्नेमा सानु भण्डारी,केशव प्रसाद दुलाल र टंक कुमार गुरूङ रहेका छन्।
एपसी राठौरका अनुसार उनीहरूले ८१ जनाबाट रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। १३ करोड ६३ लाख रुपैयाँ लिएर फरार भएपछि पीडितहरू प्रहरीमा जाहेरी दिएका थिए।
उनीहरूले ठगी गरेको ६५ लाखभन्दा बढि रकम विभिन्न बैंक खातामा जम्मा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस्तै पीडितमध्ये १० जनाभन्दा बढिको नाममा नेपाल सरकार गृहमन्त्रालयको नाममा सरकारी लोगो समेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्ट समेत बनाएको पाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
