प्रचण्ड र नेपालप्रति लक्षित गर्दै पोखरेलले भने - एमाले सिध्याउँछौं भन्नेलाई जनताले भित्तामा पुर्याए

सचिव रघुवीर महासेठले एमाले सालको रुखजस्तो बलियो रहेको बताउँदै मिसन ग्रासरुटमार्फत झन् बलियो बन्ने धारणा व्यक्त गरे।
रौतहट : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई सिध्याउँछौं भनेर लागेकालाई जनताले भित्तामा पुर्याइदिएको दाबी गरेका छन्। प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै पोखरेलले एमालेलाई सिध्याउँछौं भन्नेहरूलाई निर्वाचनमार्फत जनताले भित्तामा पुर्याइदिएको बताएका हुन् ।
पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत रौतहटमा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको माया र स्नेहले नै नेकपा (एमाले) समानुपातिक मतमा पहिलो भएको स्पष्ट पारे।
पोखरेलले अब आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेगरी पार्टीले योजनाबद्ध ढङ्गले काम गरिरहेको बताए। मिसन ग्रासरुटको मुख्य उद्देश्य भनेको नै तल्लो तहका नेता तथा कार्यकर्ताहरूका समस्याको समाधान र पार्टीलाई जगैदेखि नै बलियो बनाउनु रहेको उनको भनाई छ।
कार्यक्रममा पार्टीका सचिव रघुवीर महासेठले एमाले सालको रुखजस्तो बलियो रहेको बताउँदै मिसन ग्रासरुटमार्फत झन् बलियो बन्ने धारणा व्यक्त गरे। जनताको पार्टी भनेकै एमाले रहेको चर्चा गर्दै उनले एमालेको नीति, विचार, सिद्धान्त र जनजीविकासँगको निकटताका कारण मधेशमा एमाले पहिलो बन्न सफल भएको बताए ।
प्रतिक्रिया दिनुहोस !
