रातको समयमा खसीबोका चोरी गर्ने दुई जना पक्राउ
काभ्रे : काभ्रेको विभिन्न ८ ठाउँ र भक्तपुरको १७ ठाउँबाट ३६ वटा खसी र ४ वटा बोका चोरेर बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई पनौतीस्थित काभ्रे र भक्तपुर जिल्लाको सिमानाबाट बिहीबार राति ३ बजे खसीसहित भाडाको ट्याक्सीसहित पक्राउ गरिएको थियो।
बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा चेकजाँचका क्रममा चोरी गरेर ल्याएको खसीसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले पनौतीसहित काभ्रेको विभिन्न ८ र भक्तपुरको १७ ठाउँबाट ३६ वटा खसी र ४ वटा बोका र गरी ४० वटा खसी बोका चोरी गरेर बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
रातको समयमा विभिन्न स्थानहरूमा अरुको घरमा खसी बोका चोरी गरिएको आरेपमा रामेछाप दोरम्बा घर भई हाल सूर्यविनायक भक्तपुर बस्दै आएका २४ वर्षीय सुमन तामाङ र ४० वर्षीय मिलन तामाङ पक्राउ परेका हुन्।
चोरी गरेका खसीबोका किन्ने र मासु बिक्री गर्दै आएका रामेछाप मन्थलीका घर भई अहिले काठमाडौंको पेप्सीकोला बस्दै आएका रामेछाप–उदयपुर मासु पसल सञ्चालक ४३ वर्षीय दिलबहादुर कार्की पनि पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको बनेपा इलाका प्रमुख रमेश बोहोराले जानकारी दिए।