प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीले लिइन् शपथ
सभामुख देवराज घिमिरेले आइतबार सिंहदरबारमा अन्सारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।
काठमाडौं : जनता समाजवादी पार्टीमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा मञ्जु शर्मा अन्सारीले शपथ लिएकी छन्।
सभामुख देवराज घिमिरेले आइतबार सिंहदरबारमा अन्सारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। समानुपातिक निर्वाचन प्रणालीबाट जसपा नेपालको समावेसी समूह, मुस्लिम–महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो।
निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई प्रतिनिधि सभा सदस्य निर्वाचित गरेको घोषणा गरेको थियो।
२०४६ सालमा तत्कालिन नेपाल सदभावना पार्टीबाट राजनीति सुरु गरेकी अन्सारीले पार्टी निकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन्। उनले २०५६ सालमा सदभावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेकी थिइन्।
२०६४ सालमा भएको मधेस विद्रोहमा सहभागी भएकी अन्सारी उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट २०६४, २०७० र २०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा थिइन्। उनी मधेसी जनअधिकार फोरमको केन्द्रीय सदस्य, उपत्यका ईञ्चार्ज हुँदै अहिले जनता समाजवादी पार्टीको पोलिटब्यूरो सदस्य छिन्।
शपथपछि अन्सारीले प्रतिनिधि सभा सदस्यका रुपमा आफूले राज्यप्रति इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।
प्रतिक्रिया दिनुहोस !