कोरोना बढ्यो, सीमामा सतर्कता भएन

स्वास्थ्यकर्मी पनि संक्रमित

कोरोना बढ्यो, सीमामा सतर्कता भएन
सुन्नुहोस्

काठमाडौं : काठमाडौं।सीमापारी भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्को छ । सीमावारी नेपालमा पनि यसको जोखिम उच्च देखिएको छ।

खुला सीमाबाट संक्रमितको निर्वाध आवतजावत भइरहेकाले जोखिम झनै बढने विज्ञहरू बताउँछन् । जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले सीमामा निर्वाध आवतजावतले मुलुकभित्र आगामी दिनमा संक्रमण बढ्ने बताए।‘अब कोरोनाको संक्रमण झन् बढ्दै जाने जोखिम छ,’ डा. मरासिनीले भने, ‘संक्रमितको अस्पतालमा भर्नादर पनि बढ्छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका एक जना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ।चार जना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, चैतको पहिलो सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो।चैतमा संकलित २४ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।नेपालमा र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ को संक्रमण फैलिरहेको जनाइएको छ।गत चैत १७ गते सबैभन्दा बढी १ सय ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

‘सीमापारी संक्रमण जुन दरले बढेको छ।त्यो चुनौतीपूर्ण छ,स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने,‘सीमापारीको संक्रमणको प्रभाव सीमावारी पनि परेको छ । ओमिक्रोन भेरिएन्ट बढी संक्रामक देखिएको छ।खोप लगाएका व्यक्तिमा पनि संक्रमण भएको छ।खोप नलगाएका व्यक्तिहरूलाई संक्रमणको जोखिम झन् उच्च हुन्छ।’ सीमा नाकाहरूमा स्थापित हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीबाट कोभिड–१९ को परीक्षण गराई नतिजा पोजेटिभ आएमा परामर्शका साथै नजिकको अस्पतालमा निदान र उपचारको व्यवस्था मिलाइएको अधिकारीले बताए।

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी पनि संक्रमित भइरहेका छन्।त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल निजामती अस्पताल लगायतमा चिकित्सक र नर्समा संक्रमण पुष्टि भएको छ।निजामती अस्पतालका निर्देशक प्राडा विधाननिधि पौडेलले दुई सातायता डाक्टर, नर्स गरी २५ जनाभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ।‘कोरोना संक्रमितको संख्या बढिरहेकाले उपचार व्यवस्थापनमा चुनौती बढेको छ,’ डा. पौडेलले भने, ‘अहिलेसम्म २५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ।स्वास्थ्यकर्मीसमेत संक्रमित भएर पाँच दिन आइसोलेसनमा बस्न भनेका छौं।स्वास्थ्यकर्मी संक्रमण हुँदा इन्डोस्कोपी सेवा बन्द गर्न बाध्य हुनुपर्‍यो।’ मुलुकभर ३ सय ५८ जना सक्रिय संक्रमित छन्।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, कोरोना संक्रमितमा जाडो लाग्ने, टाउको तथा शरीर र ढाड अत्यधिक दुख्ने, आँखा दुख्ने, अत्यधिक थकान महसुस गर्ने तथा खोकी लाग्नु जस्ता लक्षणहरू देखिएको छ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार संक्रमितहरूको स्वास्थ्य 

अवस्था सामान्य रहेको छ।‘संक्रमितहरूको स्वास्थ्य अवस्था जटिल देखिएको छैन,’ डा. अधिकारीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.