नेपाली मार्क्सवाद
![नेपाली मार्क्सवाद](https://annapurnapost.prixacdn.net/media/albums/nepali-marsisam_FzVGZkWwkw_vF2Go3UJ12.jpg)
समृद्धिको स्वदेशी संकथनमा होइन, भड्किला बहसमा उत्रने चलन बढ्दैछ।
कार्ल मार्क्सलाई वरिष्ठ अर्थशास्त्री, दार्शनिक वा राजनीतिज्ञ भन्दै एक वा बहुधारमा चिनाइन्छ। उनले सन् १८६७ देखि १८८३ बीच ‘दास क्यापिटल’ नामक पुस्तकका तीन शृंखला लेखे। १८४८ मा लेखेको ‘कम्युनिस्ट मेनिफेस्टो’ शीर्षकको राजनीतिक आवधारणापत्र विश्वभर चर्चित भयो। नेपालमा पनि प्रजातन्त्रको अभ्युदयको समय २००७ सालको आसपास पुष्पलालको अगुवाइमा पहिलो मार्क्सवादी कम्युनिस्ट पार्टीको निर्माण भयो। जुट र फुटका कारण आज चाहिँ मसाल, मार्सल, एकीकृत, विकेन्द्रित, क्यास, ड्यास, नेकपा, नेकाप डबलजस्ता नाममा लगभग दुई दर्जन मार्क्सवादी पार्टी छन्।
मार्क्सले भौतिक सम्पत्तिलाई मानिसबीचको अन्याय, शोषण र दमनको कारण बताए। अडाम स्मिथले १७७६ मा ‘वेल्थ अफ नेसन’ लेख्दै आर्थिक–भौतिक सम्पन्नतालाई देशको सबलता सम्झन्थे। सम्पत्तिमाथि मार्क्सले विरोध र स्मिथले मोह देखाए। विपरीतार्थक यी दुवै अवधारणाले मानिसलाई भौतिक सम्पन्नता र धनको खास महत्त्व हुने आभास दियो। अद्भुत शान्ति, बन्धुत्व अनि भाइचारा बिर्संदै समाज पूर्णतया सम्पत्ति मोहमा फस्न थाल्यो। आदिम सभ्यता अथवा ‘प्रिमिटिभ कम्युनिजम’मा सबैबीच सहकार्य थियो।
नेपालको सन्दर्भमा मार्क्सवादी सान्दर्भिकताको व्यापक पुनव्र्याख्या र नितान्त फरक प्रयोगको अभ्यास दुवै आवश्यक छ।
मार्क्सले सम्पूर्ण अन्याय अत्याचार तथा सामाजिक द्वन्द्वको आधार भौतिक सम्पत्ति रहेको भन्दै सम्पत्तिको क्षयीकरण गर्नुपर्ने भन्थे। निषेधित भनिएको कुरामा मानव चासो झन् सघन हुन्छ, मार्क्सवादको सान्दर्भिकता यहाँ नराम्ररी चुक्यो। सर्वहारा भन्ने नेताहरूमा सर्वभोगी बन्ने दौडाहा चल्यो। मार्क्सले धनको कारणले वर्गविभेद भएको बताउँदै बुर्जुवाहरूको धन खोस्नुपर्ने बताए। केही लेखकले त उनको सोचलाई युटोपिया अथवा काल्पनिक रामराज्यसमेत भने। १९७० को दशक संसारमा निकै लोकप्रिय कम्युनिज्म आज पाँच देशमा खुम्चँदैछ। साम्यवादी देशका प्रमुख नै संसारका धनाढ्यहरूको सूचीमा पर्छन्।
साम्यवाद त साम्राज्यवाद उन्मुख चरित्रमाथिको नरम लेपन हँुदैछ। सन् २०२२ को ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्यांकअनुसार शून्य भ्रष्टाचार मूल्यांकनमा नेपाल ३४, रूस २८ र उत्तर कोरिया १७ मात्र अंक ल्याउँदै संसारमा उच्च आर्थिक भ्रष्टाचार हुने देशमा गनिन्छन्। हामीकहाँ पनि नाफा कमाउन मार्क्सवादी पार्टीहरू जन्मन्छन् र हराउँछन्। एउटै पार्टी भित्रसमेत फरकफरक गुट बन्छन्। गुटभित्र त विचार तथा सिद्घान्तको छलफल हुन्छ। अझ अर्को पक्ष केवल लेनदेन र नाफाघाटाको हिसाबकिताब गर्छ। जहाँ चरम अवसरवादको प्रतीक्षा हुन्छ। आजका कम्युनिस्ट नेताका जीवनशैली मार्क्सवादी सिद्घान्त तथा आचरण अनुरूप छैन। सादा जीवन भन्ने कुरा त दस्तावेजका पानामा सीमित छ।
भड्किलो जीवनशैली तथा नियन्त्रणबिनाको अहंकारी उन्मादले हाम्रा अधिकांश मार्क्सवादी नेताहरूलाई घेरेको छ। मानव स्वभावैले अरूभन्दा विशिष्ट बन्न र फरक हुन चाहन्छ। भौतिक सम्पन्ता र व्यक्तिगत स्वतन्त्रता रोज्ने मानिसका स्वाभाविक प्राकृतिक अपरिवर्तनीय विशेषता हुन्। भलै नागरिकले संघर्षबाट अनि नेतृत्वले गैरन्यायिक तथा अनैतिक दोहनबाट गर्लान्। मार्क्सवादले धनप्रतिको मानिसको मोहलाई व्यवस्थित बनाउनेभन्दा तिरस्कार गर्न खोज्यो। तसर्थ, बाहिरबाहिर सिद्घान्तप्रति ताली पिट्नेहरूमा नै भित्रचाहिँ त्यसको अस्वीकार्यता बढ्दै गयो। अहिले पनि कम्युनिस्ट आन्दोलनहरूबाट नयाँ रूपमा जन्मिएका शासकहरूको जीवन र जगत् परिवर्तन भयो।
तर दुनियाँ संलग्न शासित वर्ग तथा आम नागरिकमा मार्क्सवादी आन्दोलनको तर्फबाट गरिनुपर्ने अपेक्षित कार्य भने पूरा भएनन्। मार्क्सले औद्योगिक समाजको आधारमा बनाएको अवधारणा धेरै ठाउँ मेल खाँदैन। अहिले उद्योगभन्दा सेवा, प्रविधि र मनोरञ्जनको व्यापार बढ्दो छ। मार्क्सवादले सदाकाल पुँजी र प्रजातन्त्रको विरोध गरे पनि मार्क्स स्वयंले पँुजीवादी मित्र एंगल्सको सहयोगमा जीवन बिताए। मार्क्सका जीवन र सिद्घान्तमा दुवैमा स्थिरता र उपयोगिता देखिएन। मार्क्सले महत्त्व दिएको धनकै कारण मानिस भौतिक सम्पन्नताको तृष्णामा नैतिक र अनैतिक कामसमेत गर्न हिचकिचाउँदैनन्। हाम्रोमा पनि आर्थिक सम्पन्नताका लागि सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक रूपमा क्षयीकरण हँुदैछन्।
सामाजिक सद्भाव, सदाचारिता, आपसी सहयोग, एकतामा खलल पुग्दैछ। सरकारका नायक र जनताका लागि काम गर्नुपर्ने मानिससमेत भौतिक सम्पन्नतालाई मुख्य लक्ष्यमा राख्छन्। नेता तथा मन्त्रीनै भ्रष्टाचारका अग्रपंक्तिमा भेटिन्छन्। सबैको ध्येय अवाञ्छित आर्थिक लाभ हो। व्यापारी व्यवसायी, पेसाकर्मीलगायत सबैको एउटै र अन्तिम ध्येय जुनकुनै तवरले धन आर्जन गर्र्नेे बन्दैछ। कन्ज्युमरिस्ट इकोनोमीको यो समयमा मानिसको परिचय उसको काम अनि कर्तव्यपरायणता नभै उसले उपभोग गर्ने बजारी सेवासुविधाको आयतनमा मापन गरिन्छ। हामीकहाँ त्यो अफवाहमा मार्क्सवादका वकालत गर्ने नेतृत्वको जोडबल सबैको भन्दा तेज गतिको बन्दैछ।
सिद्घान्तका पुस्तक निलेर अनावश्यक तर्क, वितर्क ओकल्नमा मार्क्सका विचारहरू कैद हुँदैछन्। आफ्नो काम निपुणता र इमान्दारिता साथ समाजको भलाइको निमित्त सम्पादन गर्नेभन्दा अरूको विरोध गरेर आफूलाई राम्रो ठान्ने प्रवृत्तिमा रमाउँदैछन्। समृद्घिको स्वदेशी संकथनमा होइन, भड्किला बहसमा उत्रने चलन बढ्दैछ। संसारका मजदुर एक हौं भन्दै एउटै कार्यालयभित्र थुप्रै फरक संगठन खोलिन्छन्। मार्क्सवाद मिसन कम र फेसन बढी बन्दैछ। मजदुर र मालिकका अनेकन रूप देखिँदैछ, शोषण आर्थिकमात्र नभै मनोवैज्ञानिक समेत बन्दैछ, स्वार्थ चुलिँदैछ, शोषण
गहिरिँदैछ। मालिकभन्दा ठूलो बाधक प्रविधि र त्यसको कृत्रिम बौद्घिकता बन्दैछ।
सम्भ्रान्तबाट भएको शोषणबाट मुक्ति खोज्नेभन्दा आफू पनि सम्भ्रान्त भएर अरूलाई शोषण गरी रमाउनेमा हाम्रो समाज धकेलिँदैछ। गणतन्त्रले अधिक राजाहरू जन्माएको भनेर यदाकदा सघन असन्तुष्टिहरू छरपष्ट हुन्छन्। धनको विरोध गर्ने बहानामा अधिक धनको चाहना गर्ने मानव संस्कार हुर्कंदैछ। नेतृत्वले त्यसको नयाँ रेकर्ड राख्दैछ। मार्क्सका सिद्घान्तहरू असफलतातर्फ उन्मुख देखिए वा नेतृत्वको नैतिकता स्खलित भएको भन्ने प्रश्न पेचिलो बन्दैछ। त्यसैले अब हाम्रो देश र समाजको सन्दर्भमा पनि मार्क्सवादी सान्दर्भिकताको व्यापक पुनव्र्याख्या र नितान्त फरक प्रयोगको अभ्यास
दुवै आवश्यक छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)