सरकारी कोटामा इजरायल पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
काठमाडौं : सरकारी कोटामा इजराइल पठाइदिने भन्दै लाखौं रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका ३ स्थायी घर भइ हाल काठमाडौंको लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादव रहेका छन्।
उनले रिता लामालगायत दुईजनालाई वैदेशिक रोजगारीका लागि नेपाल सरकार र इजराइलबीच भएको जि टु जी सम्झौतामार्फत् सरकारी कोटामा इजराइल पठाउन प्रतिव्यक्ति १८ लाख रकम लाग्ने र त्यहाँ १ लाख ९० हजार मासिक तलब हुने प्रलोभन देखाइ पीडितबाट पटक पटक गरी ३१ लाख रकम ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले पीडितले दिएको उजुरीका आधारमा यादवलाई पक्राउ गरेको जानकारी दिए।
उनका अनुसार पक्राउ परेका यादवलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !