अन्नपूर्णमा यो यामको पहिलो आरोहण
बेनी : म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालमा चालु वसन्त यामको पहिलो हिमाल आरोहण भएको छ।
सेभेट समिट ट्रेकका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार दिउँसो ११:३५ मा अन्नपूर्णको सफल आरोहण गरेको हो।
सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईंले तीन जना नेपाली, एक जना पाकिस्तानी र एक जना अस्ट्रेलियन अन्नपूर्णको चुचुरोमा पुगेको जानकारी दिए।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–४ नारच्याङको भूगोलमा पर्छ। नुर्वुको टोलीले बनाएको बाटो प्रयोग गरेर अन्य आरोहीहरूको टोली पनि अन्नपूर्णको चुचुरोमा पुग्ने क्रममा छन्।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका छन्। अन्नपूर्ण हिमाल संसारको दशौ अग्लो हिमाल हो। अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकहरूको आधार शिविरमा चहलपहल छ।
इलाईट ट्रेकिङ कम्पनीमार्फत कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि गत फागुन २३ गते म्याग्दीमा आएकी थिइन्। आल्थानीको आरोहण टोलीको नेतृत्व कीर्तिमानी आरोही निर्मल पुर्जाले गरेका छन्।
वि.स. १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !