ओसन कप विजेता यु-१३ टोलीलाई सिमरामा स्वागत

सिमराः गोर्खामा सम्पन्न आठौं ओसन कप यु-१३ राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि जितेर शनिबार फर्किएको युथ टोलीलाई नज जनजागृति युवा क्लबले सिमरामा स्वागत गरेको छ।
उत्कृष्ट खेल प्रदर्शन गर्दै सिमरालाई उपाधि दिलाउन सफल टोलीलाई क्लबले स्वागत गरेको हो। क्लबका उपाध्यक्ष शंकर थापाको नेतृत्वमा रहेका पदाधिकारी तथा सदस्यले अबिर र माला लगाएर युथ टोलीलाई स्वागत गरेका थिए।
लगातार सात खेलमा अपराजित रहँदै नव जनजागृति युथले ओसन कपको उपाधि जितेको थियो। जनजागृतिले उपाधि उचाल्ने क्रममा लक्ष्मी सामुदायिक शिक्षा सदन गोर्खालाई ५–४ ले पराजित गरेको थियो।
नव जनजागृतिका उपाध्यक्ष थापाले फुटबलको माध्यमबाट सिमरालाई चिनाउन सफल खेलाडीको मनोबल उच्च राख्न जरुरी रहेको बताए।
स्वागतसँगै क्लबका पदाधिकारीले आधाभारबाट सिमरासम्म र्याली निकालेको थियो। युवा फुटबल परियोजना अन्तर्गत आयोजना गरिएको प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस !
