टीट्वेन्टी क्रिकेट प्रतियोगिता : आर्मीलाई उपाधि
विराटनगर : प्रथम ऋचा मेमोरियल टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ। विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको फाइनलमा घरेलु टोली एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो।
उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ। उपविजेता एनबीएससीले ७५ हजार रुपैयाँमा चित्त बुझायो।
एक सय ११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११.३ ओभरमा चार विकेट गुमाउँदै जित निकालेको थियो। आर्मीको जितमा सन्दीप रजालीले विस्फोटक ब्याटिङ गरेका थिए। उनले २० बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ४६ रन बनाए। उनी खेलको म्यान अफ दी म्याच पनि घोषित भए।
यस्तै वासिर अहमदले १८ र सुमित श्रेष्ठले अविजित १३ रन बनाए। एनबीएसीका एमडी इजार, प्रशान्त कुमार, रवि शर्मा र मयांक कुमारले एक÷एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एनबीएससीले १७.२ ओभरमा एक सय १० रनको योगफल खडा गरेको थियो। एनबीबएससीका कुमार राजनिसले ५० रनको अर्धशतकीय पालि खेलेका थिए। आर्मीका विक्रम सोबले तीन विकेट लिए। यस्तै हरि चौहान र सुमित श्रेष्ठले दुई÷दुई विकेट हात पारे।
प्रतियोगितामा एमबी ग्रुप डडेलधुराका दीपक बोहरा उत्कृष्ट ब्याटर घोषित भए। प्लेयर अफ दी सिरिज दिल्ली युनाइटेडका साकेत केडिया र उत्कृष्ट बलर आर्मीका जितेन्द्र मुखिया घोषित भए।
प्रतिक्रिया दिनुहोस !