नुवाकोटमा बजार अनुगमन, अखाद्य वस्तु नष्ट

नुवाकोट : नुवाकोटको ककनी गाउँपालिकामा रहेका ४० वटा पसलमा अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले गाउँपालिकाको विभिन्न क्षेत्रमा अनुगमन गरेको हो।
गाउँपालिकाको एउटा सुन चाँदी पसल र २१ वटा खाद्यान्न सप्लायर्स स्टोर्स, किराना पसल, ११ वटा होटल, रेष्टुरेण्ट, तीनवटा मासु पसल र चार वटा अन्य पसलमा अनुगमन गरिएको अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए।
अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण, मूल्य सूची, नापतौल, खाद्यवस्तु उत्पादनको मिति, म्याद समाप्त मिति, खरिद बिल र बिक्री बिलको निरीक्षण गरिएको अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटका प्रमुख रामप्रसाद भुषालले बताए।
निरीक्षणका क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिँदै केही व्यवसायीलाई आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए।
उनका अनुसार सात वटा पसल अनुगमन गर्दा विभिन्न किसिमका १८ हजार तीन सय ५० रुपैयाँ बराबरको म्याद गुज्रेका विभिन्न सामग्रीहरू बरामद गरी नष्ट गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
