पुस्तौँदेखि आरनबाट गर्जो टार्दै

पुस्तौँदेखि आरनबाट गर्जो टार्दै
सुन्नुहोस्

डडेल्धुरा  : डडेल्धुराका दलित परिवारका मानिस पुस्तौँदेखि आरन व्यवसायबाट गर्जो टारिरहेका छन्। 

यद्यपि पछिल्लो समयमा आर्थिक अवस्था कमजोर र बढ्दो आधुनिक प्रविधिका कारण पुस्तौँ पुरानो व्यवसायबाट परिवार धानिरहेका मानिस संकटमा परेका छन्।  
    

बजारमा दैनिक उपभोग्य सामग्री महङ्गिँदै जानु र आरन तथा डोका, नाम्लाका लागि आवश्यक पर्ने कच्चापदार्थ दुर्लभ हुनाले व्यवसाय नै धरापमा पर्न गएको उक्त समुदायका मानिसको भनाइ छ। 

फलाम पिटेर विभिन्न औजार निर्माण गर्दै आएका आरन व्यवसायीका साथै बाँस निगालाको कामबाट डोको, नाम्लो तथा सुपो लगायतका सामग्री बनाउने मानिस समस्यामा पर्दै गएका हुन्। 

तामा, फलामलगायतका सामग्रीको तुलनामा बजारमा पाइने प्लाष्टिकजन्य सामग्री सस्तो हुने र हातले बनाएको सामग्रीको तुलनामा मेसिन तथा आधुनिक प्रविधिबाट निर्माण गरिएका सामग्री आकर्षक हुनाले पुस्तैनी पेसामा आत्मनिर्भर समुदायका मानिसको पेसा नै संकटमा परेको हो।

पुस्तौँदेखि अँगालेको आरन पेसालाई आधुनिकीकरण गर्न युवापुस्ताले पनि चासो दिएका छैनन्। त्यसैले पुस्ता हस्तान्तरण हुन नसक्दा परम्परागत पेसा नै लोप हुने खतरामा छ। 
सल्लाको बोक्राको आगोको लप्कामा ज्यान नै जोखिममा राखी फलाम पिटेर विभिन्न देवीदेवताका मूर्तिसँगै कृषि औजार बनाउने पेसा सदरमुकामदेखि गाउँघरमा विरलै कायम छन्।  

युवापुस्ताले यो पेसाबाटै मेहनतअनुसार मुनाफा नदेखेपछि विकल्प रोज्न थालेका छन् भने उमेर पुगेका मानिसले मात्रै परिवारको गर्जो टार्न बाध्यताले परम्परागत आरन तथा डोको, नाम्ला बनाउने पेसा गरिरहेका छन्। 

त्यसमा पनि परिवारको आर्थिक अवस्था कमजोर भएका मानिसले मात्रै यो पेसा अँगालेको पाइन्छ। हातले निर्माण गरेका सामग्री धार्मिकरूपमा राम्रो मानिने र टिकाउ हुने भए पनि मेसिनले बनेका सामग्रीले बजार लिँदा आफूहरू धरापमा परेको सदरमुकाममा आरन व्यवसाय गर्दै आएका नारायण टमटाले बताए।

नारायणले यो पेसा अँगालेको छ दशकभन्दा बढी भयो। उनले जिल्ला सदरमुकाममा यो पेसा थालनी गरेको पनि दुई दशक बढी भइसक्यो। सत्तरी वर्ष कटेका नारायण पारिवारिक अवस्था र मानसिक असन्तुलन भएका छोराका लालाबाला हुर्काउन बिहान ७ बजेदेखि साँझ अँध्यारो नपरुञ्जेल फलाम पिटेर निश्चित अकार दिने गर्छन्। 

हप्ता दिन काम गर्नसके मुस्किलले एक भाँडो बनाउनसक्ने नारायणको भनाइ छ। हप्ता दिन काम गरेर आकार दिएको सामग्रीको १० देखि १२ हजार रुपैयाँ मात्रै पाउने गरेको र त्यसले कोठाभाडा र साँझ, बिहान हातमुख जोर्न पनि धौधौ भइरहेको नारायणले बताए। 

नारायणलाई यो काममा सघाउन ६० वर्षीया धर्मपत्नी भागरथी टमटाबाहेक अरू कोही छैनन्। मानसिक असन्तुलन भएका छोरा र उनकै श्रीमती र नातिनातिना हुर्काउन बाध्य भएर वृद्ध अवस्थामा फलाम तामो पिट्नु परेको नारायणको दुःखेसो छ। 

कमजोर आर्थिक अवस्था र पेट पाल्नका लागि मजदुरीका कारण दुःखको जीवन जिउनुपरेको उनको भनाइ छ। त्यसमा पनि कान्छो छोरा रोजगारका लागि भारततिर रहेको उनले जानकारी दिए।

बढ्दो आधुनिक मेसिनबाट निर्मित आयातित औजारले प्रभाव जमाउनुअघि सदरमुकाममा र गाउँघरमा आवश्यक पर्ने देवीदेवताका मूर्तिदेखि घरायसी औजार यिनै आरनबाट बन्ने गर्दर्थे। विगतमा यो पेसा स्वावलम्बी ग्रामीण समाजको एउटा महत्त्वपूर्ण पाटोका रूपमा रहेको थियो। 

अब आरन र आरनमा काम गर्ने मानिस दुवै घट्दै गएका छन्। आरनबाट औजार बनाउने प्रविधिमा समयानुकूल सुधार हुन नसक्नु यसको मुख्य कारण मानिएको छ।

परम्परागत पेसाले समान्य पेट पाल्नेबाहेक अरु आर्थिक लाभ केही नभएको उनीहरू बताउँछन्। मेहनत गर्नसके हातमुख जोर्न मिल्ने नत्र भोकै पनि बस्नुपर्ने बाध्यता हुने अजयमेरु–१ का जीतबहादुर पार्कीले बताए। 

उनले यो पेसाबाट कुनै लाभ लिन नसकेको बताए। छोराछोरीलाई राम्रो पढाउन नपाएको उनको दुःखेसो छ। आर्थिक अवस्थाका कारण पेसालाई आधुनिकीकरण गर्न नसकिएको व्यवसायी बताउँछन्। 

मेसिनबाट बनेका सामग्री हातबाट निर्मित सामग्रीभन्दा सस्ता हुन्छन्। देवीदेवताको मूर्ति बनाउन नै हप्ता दिनभन्दा बढी लाग्ने उनीहरूको भनाइ छ। स्थानीय सरकारको आश्वासन मात्रै मिल्ने गरेको तर सहयोग कुनै रूपमा नपाएको पीडा छ। 

आधुनिक मेसिन भित्र्याउन नसक्दा युवा वर्ग यो पेसातिर आकर्षित भइरहेका छैनन्। बरु विदेशतिर जान्छन्। धुवाँ, धुलोका कारणले गर्दा युवा यो पेसामा लाग्न मान्दैनन्। 'पुस्तौँदेखि काम गर्दै आएका हामीसँग सीप छ कला छ तर लगानी छैन', देवीदेवताका मूर्तिदेखि घरमा चाहिने सबैखाले आरनबाट बन्ने सामग्री हिजोआज पनि बनाउने गरेका टमटाको भने। अहिलेका युवाले ध्यान नदिएका कारण यो पेसा संकटमा आएको आरन व्यवसायीको भनाइ छ। 

ज्याला कम आउने तर धेरै मेहनत पर्ने भएकाले परम्परागत आरन पेसा अपनाउन समस्या छ। आरन नहुँदा परम्परागत घरायसी तथा कृषि औजार मर्मत गर्नसमेत समस्या हुने गरेको छ। 

अहिले पनि ग्रामीण क्षेत्रमा अधिक प्रयोग हुने देवीदेवताका मूर्ति, वाद्यवादनका सामग्री दमाहा, ढोलक, भोक्कर, बिक्कुलका साथै तामाका ताउला गाग्री, खुकुरी, कुटो, कोदालो, हँसियाजस्ता कृषि औजार आरनबाटै बन्ने गरेको नारायण बताउँछन्। 

औजारको माग अहिले पनि ग्रामीण बस्ती र बजारमा धेरै नै रहेको छ। आरनबाट औजार बनाउने प्रविधिमा सुधार गरी आधुनिकीकरण गरेर प्रोत्साहित गर्नसके स्थानीयस्तरमा रोजगार सिर्जना हुनुका साथै पुस्तैनी पेसा पनि जगेर्ना हुनसक्ने उनीहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.