मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँः मन्त्री श्रेष्ठ
हेटौंडा : बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आग्रह गरेका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मन्त्री श्रेष्ठले प्रेस स्वतन्त्रतासँग नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतासमेत जोडिएको भन्दै यसलाई मर्यादित बनाउने सन्दर्भमा बागमती प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए।
मन्त्री श्रेष्ठले पछिल्लो समय पत्रकारिताको नाममा डिजिटल मिडियामार्फत् भइरहेका विकृति नियन्त्रण गर्न आवश्यक रहेको उल्लेख गर्दै पत्रकारितालाई स्वनियमनमा लैजान प्रोत्साहित गर्ने बताए।
‘हामी पत्रकारितालाई स्वनियमनमा लैजान प्रोत्साहित गर्न चाहान्छौँ, नियन्त्रण होइन। मिडिया हाउसलाई स्वतन्त्र र निश्पक्ष ढंगबाट सूचना समाचार प्रकाशन÷प्रशारणमा सहयोग पुर्याउने हाम्रो नीति छ। पत्रकारहरूको भौतिक सुरक्षाप्रति पनि हामी संवेदनशील र जिम्मेवार छौँ। व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउन पनि पहल गरिरहेका छौँ,’ उनले भने।
उनले श्रमजीवी पत्रकारको क्षमता विकास गर्न सिप विकासका कार्यक्रम सञ्चालनलाई प्राथमिकताका साथ अगाडि बढाउने बागमती सरकारको नीति रहेको उल्लेख गरे।
मुलुकमै पहिलो पटक बागमती प्रदेशले बनाएको प्रदेश सञ्चार माध्ययम व्यवस्थापन ऐन २०७५ बमोजिम प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गरी सञ्चार संस्था र पत्रकारको हित प्रवद्र्धन हुने गरी काम गरिरहेको उनले उल्लेख गरे।
उनले क्रियाशील सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना समेत दिए।
कार्यक्रममा सञ्चारकर्मीहरूको जिज्ञासालाई प्रेस रजिष्ट्रार रेवती सापकोटाले सहजीकरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !