सुनकोशी-मरिण डाइभर्सनको सुरुङ खन्ने कार्य सुरु
सिन्धुली : सुरुङ खन्ने क्रममा पहिरो खसेर अटोमेटिक टनेल बोरिङ (टीबीएम) मेसिनलाई थिचेपछि अवरुद्ध भएको सुनकोशी-मरिण डाइभर्सनको सुरुङ खन्ने कार्य पुनः सुरु भएको छ।
टनेलको दायाँबायाँ र माथिबाट झरेको पाउडर जस्तो ‘फिलाइट’ माटोलाई बाइपासमार्फत केमीकलको समेत प्रयोग गरी हटाइएपछि सुरुङ खन्ने कार्य पुनः सुरु भएको हो।
आयोजनाका निर्देशक मित्र बरालका अनुसार टनेलको दायाँबायाँ र माथिबाट खसेको पहिरोलाई बाइपास सुरुङ निर्माण गरी घर्षण बल कम गराई रोकिएको स्थानबाट क्राउन क्याभिटीमा केमिकल ग्राउटिङ गरी टीबीएम मेसिनलाई अड्किएको ठाउँबाट पुनः सञ्चालनमा ल्याइएको हो।
राष्ट्रिय गौरवको यस आयोजनाको १३ दशमलव ३ किलोमिटर लामो सुरुङ खन्ने क्रममा चुरे रेन्ज कटेर महाभारत क्षेत्रमा प्रवेश गर्न २ सय ३३ मिटर बाँकी रहँदा टनेलमा दोस्रो पटक पहिरो खसेर काम रोकिएको थियो।
डाइभर्सन निर्माण कम्पनी कोभेक, परामर्शदाता सिमेक अस्ट्रेलिया र जेभि पाटनरका विशेषज्ञहरू, टिबिएम निर्माता कम्पनी रोबिन्स र टनेल प्राविधिक टोलीले थप पहिरो खस्ने क्रम रोक्नका लागि टीबीएमको कटर हेटको माथि सिर्जना भएको क्याभिटी भर्नका लागि रासायनिक इजेक्शन, सतहमा हुने घर्षणलाई हटाउन टेलिस्कोपिक शिल्ड र ग्रिपर शिल्डमा लुब्रिकेटिङ आएल प्रयोग गरिए तापनि मेसिन सञ्चालन हुन सकेको थिएन।
यसअघि २ दशमलव १५६ किलोमिटर सुरुङ खन्दा लेदो सहितको पहिरो खस्दा गत पुस महिनाको २१ देखि ३० गतेसम्म काम रोकिएको थियो।
आयोजनाको हालसम्म ४ हजार ६६९ मिटर सुरुङ खनिएको छ। कमलामाई नगरपालिका-२ कुसुमटारबाट खन्न सुरु गरिएको सुरुङमार्गमा पहिरो खसेर अवरुद्ध भएपछि गत चैत्र २७ गतेदेखि बाइपास निर्माण थालिएको थियो।
आयोजनाको करिब पाँच किलोमिटर सुरुङ खनिएपछि भने अवरोध कम हुने आकलन गरिएको छ। थप समस्या नआए तोकिएको २२ महिना भित्रै सुरुङ निर्माण सकिने उनले बताए।
डाइभर्सन निर्माणका लागि सुरुङ खन्ने कार्य चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ठेक्का पाएको थियो। गत असोज २८ गतेबाट टीबीएम मेसिनको प्रयोग गरेर सुरुङ खन्ने कार्य सुरु गरिएको थियो। उक्त मेसिनले दैनिक २५ मिटर देखि ३८ मिटरसम्म टनेल खन्ने गरिएको थियो। आयोजनाले ५ दशमलव ५ डायमिटरको सुरुङमार्गमा निर्माण गरिएको छ।
कानढुंग्रीबाट सुनकोशी नदीमा १६ मिटर उचाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारमा झारिनेछ।
उक्त पानीबाट ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गरिनुका साथै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। यस आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रहेको छ।