पुलै पर्यटन
पर्वत सदरमुकाम कुश्मा बजार पहिले सुनसान हुन्थ्यो। गण्डकी प्रदेशको राजधानी पोखरादेखि बागलुङ, म्याग्दी र मुस्ताङको प्रवेशद्वार भए पनि कुश्मामा खासै चहलपहल हुँदैनथ्यो।
मुस्ताङ, ढोरपाटन, धौलागिरि, अन्नपूर्ण हिमाल जानेआउने पर्यटक कुश्मा हुँदै सिधै पोखरा आवतजावत गर्थे। तर, अहिले यो बजार गण्डकी प्रदेशकै नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गएको छ।
कालीगण्डकी र मोदी नदीमाथि बनेका लामा पुल र अन्य साहसिक पर्यटकीय पूर्वाधारले सर्वसाधारणलाई सहजता थपेको छ। यति मात्र होइन, उक्त क्षेत्रमा पर्यटनको ढोकासमेत उघारिदिएको छ। ज्ञादीका राजबाबु पौडेल क्षेत्री लामो पुल बनेपछि कुश्मा बजार पानी पँधेरोजस्तो बनेको बताउँछन्।
‘गाउँमा यातायातको सहज पहुँच थिएन। सरकारी कामको लागि घण्टौं हिँडेर कुश्मा धाउनुपर्ने हुन्थ्यो। सामान्य घरायसी सामग्री खरिदका लागि पनि कुश्मा नै धाउनुपर्ने बाध्यता थियो,’ क्षेत्रीले विगत सम्झिए, ‘स्कुलको पोसाक सिलाउन, किताब किन्न, चलचित्र हेर्न र घरमा चाहिने सामान किन्न कुश्मा आउन जान घण्टौं उकालो ओरालो र भीरको अप्ठ्यारो बाटो हिँड्नु पर्थ्यो।’
२०६७ सालमा निर्माण भएको ३ सय ४४ मिटर लामो र १ सय ३५ मिटर अग्लो कुश्मा–ज्ञादी झोलुंगे पुल नेपाली इन्जिनियरले बनाएको अग्लो तथा लामो झोलुंगे पुल पनि हो। दुई डाँडालाई जोड्न सकिन्छ र जोडेरै देखाउँछु भन्दै दिनरात लागिपरेका इन्जिनियर सूर्यप्रकाश पौडेलको अठोट र विश्वासका कारण नै पुल निर्माण सम्भव भएको थियो।
‘त्यतिबेला पौडेललाई स्थानीयवासीले त पागल नै भन्थे। तत्कालीन जिल्ला विकास समितिले पनि उहाँको कुरालाई हाँसोका रूपमा लिएको थियो,’ पौडेलसँगै पुल निर्माणमा जोडिएका पत्रकार भवानीप्रसाद शर्मा भन्छन्, ‘यस झोलुंगे पुल पर्वतका लागि एउटा कोसेढुंगाका रूपमा स्थापित हुन पुग्यो।’
पुल निर्माणपछि यसैको सिको गरेर अग्ला तथा लामा झोलुंगे पुल एकपछि अर्को थपिँदै गएका छन्। बागलुङलाई पर्वतसँग जोड्न कुश्मा–कैया झोलुंगे पुल निर्माण गरियो। लगत्तै त्यसको छेउमै कुश्मा–मुडिकुवा झोलुंगे पुल थपियो।
फेरि मुडिकुवा नै जोड्ने गरी अर्को मुडिकुवा–बलेवा झोलुंगे पुल बन्यो भने सदरमुकाम कुश्मालाई जोड्ने गरी खरेहामा कुश्मा–अधिकारी फाँट झोलुंगे पुलको निर्माण भएको छ।
लामो पुल सफल भएपछि कुश्माको व्यवसाय ठप्पजस्तै भएका बेला पाँच सयभन्दा बढी व्यवसायी तथा स्थानीयवासीले कुश्मा–बलेवा जोड्ने यान्त्रिक पुल बनाएर चलाउन थाले।
कालीगण्डकी खोँचले छुट्ट्याएको बागलुङ र पर्वतलाई यान्त्रिक पुलले नजिक बनाएको छ। बागलुङको दक्षिणी भेगमा उत्पादन भएका कृषिउपज बिक्रीका लागि कुश्मामा आइपुग्छन् भने खाद्यान्नका सामान कुश्माबाट बागलुङतर्फ जाने गर्छन्। पुलले दुई जिल्लाकै व्यापार व्यवसायमा मद्दत पुर्याएको छ। यसले स्वास्थ्य, शिक्षा, रोजगारीमा पनि सहजता प्रदान गरेको छ।
पछिल्लो समय पर्वतको पहिचानका लागि कुश्मामा सञ्चालनमा रहेको साहसिक खेल बन्जीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। विश्वकै अग्लो स्विङ र दोस्रो बन्जी ५ सय २५ मिटर लामो झोलुंगे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि २ सय २८ मिटर उचाइमा बन्जी र स्विङका लागि जम्प गर्ने स्थानको निर्माण गरिएको छ।
बागलुङ र पर्वतलाई जोडेर बन्जीका लागि झोलुंगे पुलको निर्माण गरिएको छ। लामा पुल र बन्जीले कुश्माको व्यापार व्यवसायलाई चलायमान बनाउन सहयोग पुगेको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी बताउँछन्। बाँदर लड्ने भीरपाखामा होटल तथा रेस्टुरेन्ट निर्माण भइरहेका छन्।
द क्लिफ प्रालिले बन्जी, स्विङ (पिङ) लगायतका साहसिक खेल सञ्चालन गरेको छ। द क्लिफका मुख्य सञ्चालक राजु कार्कीसहितको समूहले सबैभन्दा पहिले कुश्मा–कैया झोलुंगे पुलमा बन्जी गराउन लागि परेको थियो।
‘कुश्मा–ज्ञादी झोलुंगे पुल बनेपछि अर्को ठाउँमा कुश्मा–कैया झोलुंगे पुल निर्माण गरेर सार्वजनिक निजी साझेदारीमा बन्जी गराउन सकिन्छ भनेर लागेका थियौं’, द क्लिफका अर्का सञ्चालक नेत्र पराजुली भन्छन्, ‘तीन वर्ष लागिपर्दासमेत पुलमा बन्जी गराउने कुरा मिलेन। त्यसपछि जग्गा खोज्ने क्रममा चाकलेको डिलमा पुगेर आफ्नै निजी झोलुंगे पुल निर्माण गरी बन्जी सञ्चालन गरेका हौं।’
कुश्मामा पछिल्लो समय साहसिक पर्यटकलाई लक्षित गरेर जिपलाइन सञ्चालनमा आएको छ। कुश्मा आउने पर्यटकलाई यसले थप मनोरञ्जन प्रदान गरेको छ। कालीगण्डकी नदीको खोंचमा रहेको सुपरम्यान शैलीको यो जिपलाइनको लम्बाइ १ हजार ४ सय मिटर छ।
कालीगण्डकी नदीको सतहदेखि झन्डै २ सय ५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुवाती गति प्रतिघन्टा १ सय ३० किलोमिटर हुने र गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्छ।
प्रतिक्रिया दिनुहोस !