कांग्रेसको पदाधिकारी बैठक बस्दै, पूर्वगृहमन्त्री खाण होलान् निलम्बित ?
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। बुधबार भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।
खाण पक्राउ परेपछि बुधबार पनि पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बैठक बसेको थियो। बैठकमा प्रहरी हिरासतमा रहेका केन्द्रीय सदस्य खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा दुईथरी धारणा आएपछि आज पुन: बैठक बस्ने गरी स्थगित भएको थियो। आजको बैठकमा पूर्व पदाधिकारीसमेत बोलाइएको छ।
शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि एमालेले उनलाई निलम्बन गरेको छ। खाणलाई पनि निलम्बन गरेर अनुसन्धान सघाउनु पर्ने दबाब पार्टीभित्र र बाहिर रहेको छ। खाणसँगै उनकी पत्नी एव् सांसद मञ्जु लगायतका कांग्रेसका अन्य सांसदसमेत भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा संलग्न रहेको अडियो बाहिरिएका छन्। उक्त विषयमा पनि छलफल हुने बताइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालय र परिसरको टोलीले खाँणको घरवरिपरि मंगलबार रातिदेखि नै निगरानी बढाएको थियो। उनलाई बुधबार बिहान नियन्त्रणमा लिन जरुरी पक्राउ पुर्जी तयार थियो।
प्रहरी स्रोतका अनुसार बुधबार बिहान प्रहरी टोली पुग्दा पूर्वमन्त्री खाँण घरको माथिल्लो कोठामा थिए। श्रीमती मञ्जु खाँणसँग भिडियोमा कुराकानी गर्दै अमलेट खाने तयारीमा थिए। आफू समातिने सुइको पाएपछि उनले कोठामा चुकुल लगाएर आफूलाई भित्र ‘लक’ गरेका थिए। प्रहरीले बाहिर निस्कन पटक–पटक आग्रह गर्यो। तर, उनले आफू कुनै पनि हालतमा प्रहरी कार्यालय नजाने जिद्धि कसिरहेका थिए।
‘जे सोध्नु छ मलाई यहीँ सोध्नू। म किन जानु प्रहरी कहाँ ?’, पूर्वगृहमन्त्रीले प्रहरीसँग अड्डी कस्दै भनेका थिए, ‘के–के कागज गर्नु छ म यहीँ गर्छु। तपाईंहरू बढ्ता आतंक नगर्नुस्।’ आफूले कुनै पनि प्रकरणमा गलत काम नगरेको अडान लिँदै उनले घरबाहिर ननिस्कने जिद्धी गरेका थिए।
खाँणको घर पुग्नासाथ प्रहरीले तल्लो तलाबाटै उनका निजी सहयोगी नरेन्द्र केसीलाई नियन्त्रणमा लिई गाडीमा राखेको थियो। माथिल्लो तलाबाट उक्त दृश्य हेरिरहेका खाँणलाई प्रहरीले तल बोलाएको थियो। एकैछिनमा आइहाल्छु भन्दै कोठाभित्र पसेका खाँणले निकै बेरसम्म ढोका खोलेनन्। अन्ततः प्रहरीले बल प्रयोग गरेर ढोका खोलेको थियो। निकै हतास मुडमा रहेका उनले त्यस बेला प्रहरीसँग खासै संवाद नगरेका स्रोत बताउँछ।
प्रहरीकै गाडीमा जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएका उनी मुद्दा कक्षमा झोक्राएर बसेका थिए। स्वास्थ्य परीक्षणका लागि अस्पताल जान उनले पटक–पटक अस्वीकार गरे। उनी भनिरहेका थिए, ‘जे–जे सोध्नु छ यही सोध्नुस्। म अदालत पनि जान्नँ। अस्पताल पनि जान्नँ।’
उनले खाना नखाई प्रहरी परिसरमै प्रेसरको औषधि मगाएका थिए। प्रहरी कर्मचारीले खाना खाएर औषधि लिन आग्रह गर्दा उनको जवाफ थियो, ‘खाना खानै मन छैन।’
उनी जिद्दी गरेरै भए पनि बुधबार घर फर्किने भन्नेमा थिए। अदालत र अस्पताल गयो भने हिरासतमा राख्न म्याद थप हुन्छ भन्ने बुझेरै उनले अटेरी गरिरहेका थिए। यसका लागि जस्तोसुकै कागज गर्न र बयान दिन उनी तयार भएको प्रहरी स्रोत बताउँछ। जसकारण दिउँसो ३ बजे मात्रै उनलाई म्याद थपका लागि जिल्ला अदालत लगिएको थियो।
प्रहरीले खाँणसँग बुधबार नै प्रारम्भिक बयान सकाएको छ। थप अनुसन्धानका लागि उनलाई जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप गरिएको हो।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !



