सिराहाको सलहेश क्लबलाई रारा गोल्डकपको उपाधि
धनकुटा : चौबिसे गाउँपालिका केन्द्र राजारानीमा जरि १० औं रारा गोल्कडपको उपाधि सिराहाको सलहेश क्लबले हात पारेको छ।
बिहीबार सम्पन्न फाइनल खेलमा डाँडाबजार फुटबल क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै सलहेश क्लबले उपाधि हात पारेको हो।
उपाधिसँगै सलहेशले नगद ३ लाख रुपैयाँँसहित ट्रफी प्राप्त गर्यो भने प्रतियोगिताको उपविजेता भएको डाँडाबजारले १ लाख ५० हजार र ट्रफीमा चित्त बुझायो।
सलहेशको जितमा फागुराम थारुले २ गोल, समिर तामाङले एक र एक गोल डाँडाबजारका खेलाडीले आत्मघाती गोल गरे। डाँडाबजारको तर्फबाट एक गोल निरज थापा मगरले पेनाल्टीबाट गोल गरेका थिए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सलहेश क्लबका फागुराम थारु घोषित भए। उनले नगद २० हजार रुपैयाँँ प्राप्त गरे। विधागत तर्फ उत्कृष्ट गोलकिपर सलहेशका निश्चल मोक्तान, सर्वाधिक गोलकर्ता फागुराम थारु, उदयीमान खेलाडी रारा फुटबल क्लबका अरविन तामाङ घोषित भए।
राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर रारा फुटबल क्लबले प्रतियोगिताको आयोजना गरेको हो।
जन्मथलोमा किरण चेम्जोङ सम्मानित
राष्ट्रिय टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ जन्मथलो राजारानीमा सम्मानित भएका छन्।
उनलाई चौविसे गाउँपालिकाले सम्मान पत्र र नगद ५० हजार रुपैयाँ सहित रारा गोल्डकपको फाइनल खेलको अवसरमा सम्मान गरेको हो।
राष्ट्रिय टिमका गोलकिपर तथा कप्तान चेम्जोङलाई चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बु क्लबका अध्यक्ष मणि चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए।
सोही अवसरमा राष्ट्रिय टिमका गोलकिपर तथा कप्तान चेम्जोङले सम्मानवापत प्राप्त ५० हजार रुपैयाँ मध्ये रारा फुटबल क्लबलाई २५ हजार र उनले बाल्यकालमा अध्ययन गरेका पुण्य माविलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरे।