लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै हेटौंडा
हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडा लागूऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ। हेटौंडाको बाटो हुँदै विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतमा समेत लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको आर्थिक वर्ष २०७९/०८० को तथ्यांकअनुसार लागूऔषध सम्बन्धी मुद्दाहरूबाट ठूलो परिमाणको लागूऔषध बरामद हुनुले हेटौंडा लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको प्रष्ट हुन्छ।
देशका विभिन्न भूगोलमा सहज रूपमा आवागमन गर्न सकिने र भारतको सीमा नाका रक्सौलबाट पनि ६२ किलोमिटर मात्रै दूरी रहेको हेटौंडा लागूऔषध कारोबारको केन्द्र बनिरहेको छ।
चालु आवमा मात्रै ५ हजार ३२३ किलो गाँजा बरामद
मकवानपुर प्रहरीले चालू आर्थिक वर्ष (आव) मा २०७९/०८० को हालसम्ममा ५ हजार ३२३ किलो ४८९ ग्राम लागूऔषध गाँजा बरामद गरेको छ।
आव २०७०/०७१ मा मकवानपुर प्रहरीले २ हजार ५८० किलो ८०० ग्राम गाँजा बरामद गरेको थियो। त्यसयता चालू आवमा सबैभन्दा बढी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले बताए।
प्रहरीको तथ्यांक हेर्दा आव २०७२/०७३ मा ३ हजार २४३ किलो ९४४ ग्राम, आव २०७३/०७४ मा १ हजार ९४० किलो ८२५ ग्राम गाँजा बरामद भएको छ।
त्यस्तै आव २०७४/०७५ मा १ हजार ११० किलो ३६७ ग्राम, ०७५/०७६ मा ३ हजार १९८ किलो ५३० ग्राम, ०७६/०७७ मा १ हजार ६४६ किलो ८६० ग्राम, ०७७/०७८ मा १ हजार ७८९ किलो ९४३ ग्राम र ०७८/०७९ मा २ हजार ६६२ किलो ४९२ ग्राम गाँजा बरामद भएको मकवानपुर प्रहरीको तथ्यांकमा उल्लेख छ।
गाँजासँगै लागूऔषध अफिम, खैरो हिरोइन, चरेस, नाइट्रोभेट ट्याव्लेट, डाईजेपाम ट्याब्लेट पनि ठूलो परिमाणमा बरामद भएको प्रहरी प्रमुख गौतम बताउँछन्।
भरिया जेलमा, फेला पर्दैनन् ‘नाइके’
लागूऔषधसहित पक्राउ परेका अधिकांश भरिया छन्। प्रलोभनमा पारी तोकिएको स्थानसम्म लागूऔषध ओसारपसार गर्न भरियालाई प्रयोग गर्ने गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ। लागूपदार्थ बिक्री गर्ने र खरिद गर्ने मुख्य व्यक्ति ‘नाइके’ भने पक्राउ परेका छैनन्।
कतिपय अवस्थामा भरियालाई आफूले बोकेको सामान, सो दिने र लिने व्यक्तिबारे पनि थाहा नहुने अवस्था रहेको तथा कतिपय अवस्थामा भरियाले आफू पक्राउ पर्दासमेत ‘नाइके’ को नाम लिन नगरेको प्रहरी अधिकारीहरू बताउँछन्। त्यसैले अधिकांश लागूऔषधका घटना अध्ययन गर्दा लागूऔषध खरिद बिक्री गर्ने ‘नाइके’ उम्कन्छन्, भरिया जेलमा फस्ने गरेका छन्।
चालु आवको हालसम्म मकवानपुर प्रहरीले लागूऔषधसहित १७२ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। जसमा १५४ जना पुरुष र १५ जना महिला रहेका छन्। त्यस्तै लागूऔषधकै केशमा १८ जना भारतीय नागरिकसमेत पक्राउ परेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।
प्रहरीले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढेको जनाएको छ।
विकल्प नहुँदा गाँजा खेती, प्रहरीको अभियान फितलो
मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकाका साथै थाहानगरका केही क्षेत्रहरूमा लागूऔषध गाँजाको व्यावसायिक खेती हुने गरेके छ।
जिल्लाबाट वा प्रहरी चौकीहरूबाट प्रहरी टोली खटेर लगाइएको गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्य भएता पनि विकट क्षेत्रहरूमा उत्पादन भइरहेको पाइन्छ।
मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका भौगोलिक रुपमा विकट छन्। यहाँ अधिकांश जनजाति र सीमान्तकृत चेपाङ समुदायको बसोवास छ।
त्यहाँका मानिसहरू शिक्षा र रोजगारीबाट टाढा तथा गरिबीको चपेटामा छन्। त्यसैले, अधिकांशले पैसा कमाउने मनसायले गाँजा र अफिम उत्पादन गर्ने गरेका छन्। तर, बर्सेनि गाँजा उत्पादन गर्ने उनीहरूको जीवनस्तर भने उकासिएको छैन।
मकवानपुर प्रहरीले बर्सेनि ठूलो संख्यामा प्रहरी खटाएर गाँजा, अफिम तथा घरेलु मादक पदार्थ नष्ट गर्ने अभियान नै चलाउँछ। सोही अभियान अन्तर्गत प्रहरीले सो क्षेत्रमा उत्पादन भइरहेको गाँजा फडानी गरिदिन्छ। प्रशासनको नजरबाट कुना कन्दरामा उत्पादित गाँजाको पनि स्थानीयले उचित मूल्य पाउने गरेका छैनन्।
सो क्षेत्रमा स्थानीयले गाँजा लगाउने, प्रशासनले नष्ट गर्ने घटना निरन्तर दोहोरिरहन्छ। राज्य पक्षले लागूऔषध खेती नष्ट गरी सट्टामा अरू विकल्प दिन सकिरहेको छैन। रोजगारीका विकल्प नहुँदा बाध्य भएर आफूहरू गाँजा खेतीमा लाग्नुपरेको स्थानीयबासी बताउँछन्।
गाउँपालिकाका नागरिकलाई गाँजाको विकल्पमा अन्य खेतीपाती गर्न आवश्यक सीप सिकाउन नसकिएको कैलाश गाउँपालिकाका अध्यक्ष लोक मुक्तान बताउँछन्।
‘कैलाश भौगोलिक रुपमा विकट छ। हामीले लागूऔषधको उत्पादनलाई निरुत्साहित गर्दै यहाँका नागरिकहरूलाई उत्पादन मुलुक सिप सिकाउन प्रयास गरिरहेका छौँ। तर, बजेट अभावमा त्यो पर्याप्त हुन सकिरहेको छैन। सडक पूर्वाधारको विकास नहुँदा पनि लुकिछिपी गाँजा उत्पादन भइरहेको छ। हामी लागूऔषधको उत्पादन तथा यसको ओसारपसारलाई निरुत्साहित गराउन अहोरात्र लागिरहेका छौँ।’
उनले राज्यले कैलाश जस्तो विकट क्षेत्रलाई निश्चित अवधिका लागि संरक्षित क्षेत्र घोषणा गरी सबैखाले पूर्वाधारको विकास गर्दै थप बजेट उपलब्ध गराए, जनतालाई सिप र रोजगारीसँग जोड्न सहज हुने बताए।
प्रतिक्रिया दिनुहोस !