साथीसँग मिलेर श्रीमानको हत्या, दुवैलाई जन्मकैद

साथीसँग मिलेर श्रीमानको हत्या, दुवैलाई जन्मकैद
सुन्नुहोस्

राजविराज : श्रीमानको हत्यामा संलग्न सप्तरीको विष्णुपुर गाउँपालिका-५ कट्टी टोलकी इनरवती महतोलाई जन्मकैदको सजाय भएको छ। रामसुन्दर महतोको हत्या आरोपमा इनरवतीलाई जन्मकैदको सजाय भएको हो।

इनरवती संलग्न रहेको हत्या घटनाका मुख्य अभियुक्त सप्तरीको रूपनी गाउँपालिका-१ रूपनी चौकका ३८ वर्षीय नाजिर मियाँ भनिने नासिर मियाँलाई समेत जन्मकैद सजायको फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ। नासिर जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समूहमा आवद्ध थिए।

विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिहरूलाई फोन गरी धम्काई चन्दा असुली गर्ने कार्यमा नासिर सरिक रहेको प्रहरीले जनाएको छ। बिष्णुपुर गाउँपालिका-७ बाट २०७४ जेठ १३ गते एक थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित नासिर पक्राउ पनि परेका थिए। उक्त घटनामा जरिवाना तिरेर नौ महिनापछि नासिर जेलबाट रिहा भएका थिए। 

अवैध लागुऔषध व्यापार गर्ने, लुकाई छिपाई हतियार बोकी हिँड्ने र जनमानसमा डर त्रासको वातावरण सृजना गर्ने आपराधिक समूहका व्यक्ति हुनुका साथै गाँजाका अम्मली पनि रहेको प्रहरी अनुसन्धानले देखाएको छ। 

गाँजाकै संगतले नासिरको रामसुन्दर महतोसँग मित्रता बढेको थियो। मोर्चाको गतिविधि लुकिछिपी गर्न उनले महतोको घरलाई बस्ने आश्रयस्थलका रूपमा प्रयोग गर्थे। यसै क्रममा नासिर र इनरवती नजिकिएका थिए।  

नासिर र डाक्नेश्वरी नगरपालिका-७ ब्रहमपुरका ३० वर्षीय रोशन साह ०७८ असोज ८ गते बिहान महतोको घर पुगेको महतोकै छोरा जितेन्द्रले बताएका छन्। नासिरले उनको गाउँटोलमा भोज छ भनी खाना बनाउने कामका लागि महतोलाई लिएर गएका थिए। 

भोजका लागि लैजाने र जाने तीन दिनसम्म सम्पर्कविहिन भएपछि घरपरिवारका सदस्यहरूले खोजी गरेका थिए।

सप्तरीको शम्भुनाथ नगरपालिका-१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते पहिचान नखुलेको शव फेला परेको थियो। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा सनाखतका लागि शव पोष्टमार्टम नगरी राखिएको थियो। 

वेवारिसे शवको बारेमा जानकारी पाएर पुगेका मृतक महतोका दाजु मधुसुदन महतोले भाइले लगाएको कपडा र घाँटीमा लगाएको रुद्राक्षको माला देखेर पहिचान गरेका थिए।

शवको पहिचान खुलेर असोज ११ गते सनाखत भएको थियो। महतोलाई घरबाटै लैजाने मियाँ र साह भने बेपत्ता थिए। उनीहरूले नै हत्या गरेको हुन सक्ने मधुसुदनले बताएपछि प्रहरीले आरोपितहरूको खोजी गर्न थालेको थियो। 

इनरवती उतिबेला घटनालगत्तै पक्राउ परेकी थिइन। तर ठोस प्रमाणको अभावमा छुटेकी थिइन्। मोबाइल फोनको कल डिटेल्स (सिडिआर) रिपोर्टका आधारमा प्रहरीले इनरवतीसहित मदिरा पसले, कार्यक्रममा नाचगान गर्ने युवतीलाई घटना लगत्तै नियन्त्रणमा लिएको थियो। 

पर्याप्त प्रमाण विना मतियार, सहयोगीलाई अदालतमा पेश गर्दा शंकाको लाभमा धरौटीमा छुट्न सक्ने अवस्था हुने अनुमान गरेर नै इनरवतीसँग वयान लिएर छाडिएको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ। 

इनरवतीसँगै सोही आधारमा मुख्य अभियुक्त समेत अदालतमा हाजिर भई छुट्ने अवस्था हुन सक्ने अनुमान गरेर नै प्रहरीले पहिले मुख्य अभियुक्त पक्राउ गरेर पछि मात्र मृतककी श्रीमतीलाई पक्राउ गर्ने जाल फिजाएको थियो।

नासिरलाई पक्राउ गर्न मृतककी श्रीमतीलाई तत्काल छाडिएको आरोपितहरूले चाल नै पाएनन्। इनरवती छुटेपछि प्रहरीले नासिरको खोजिकार्य गरिरहेको चाल पाएर उनी भारतको विहारमा गई लुकेर बसे। 

प्रहरीले पक्राउ गर्न र उजुरी दर्ता गर्न खोजी रहेको थाहा पाएका नासिरले भारतबाटै एसपीसँग फोनमा हत्या स्वीकार्दै आफूलाई पक्राउ गर्न चुनौति पनि दिए। भारतमा लुकेर बसेका कारण प्रहरीले नासिरलाई पक्रन सकिरहेको थिएन्। सप्तरी प्रहरीले भारतीय प्रहरीलाई यसबारे जानकारी गराएर सहयोग मागेको थियो। 

स्थानीय तहको निर्वाचन नजिकिएपछि उम्मेदवारहरूलाई सहयोग गर्ने बहानामा राजनीतिक सरंक्षण लिएर नेपाल भित्रिएको सूचना पाएको सप्तरी प्रहरीले नेपाल-भारत सिमा नजिकै बोदे बर्साइन नगरपालिकाबाट नासिरलाई ०७९ वैशाख २३ गते पक्राउ गरेको थियो। 

उता प्रहरीले अनुसन्धान गरेपश्चात छाडिएकी र घरमै बसिरहेकी इनरवती आफूमाथि प्रहरीको शंका नरहेको भन्दै ढुक्क बसेकी थिइन्। नासिर पक्राउ परेपछि प्रहरीले इनरवतीलाई पनि ०७९ जेठ २४ गते पक्राउ गरेको हो।

नासिर र रोशन साहले नै महतोको हत्या गरेको र इनरवतीको समेत संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ। महतो बिहेको लगनका बेला हुने भोजभतेरमा खाना पकाउने काम गर्थे भने अरू बेला तरकारी बिक्री गर्थे।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशबाट अभियुक्तहरुलाई जन्मकैद सजायका साथै दुवै अभियुक्तले जनही दुई हजार आठ सय रुपैयाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ। 

अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार आरोपित नासिरले ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला पनि भएको छ। हत्या घटनाका तेस्रो आरोपित रोशन साह हालसम्म फरार छन्। उनको हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.