राष्ट्रियतामाथि विदेशी चलखेल बढ्यो : झलनाथ खनाल
![राष्ट्रियतामाथि विदेशी चलखेल बढ्यो : झलनाथ खनाल](https://annapurnapost.prixacdn.net/media/albums/jhalanatha-khanal_sNY4YT03k0_1B7PpcLk1Q.jpg)
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले एमसीसी पास भएपछि अमेरिकाका नेताहरु नेपालमा धमाधम आउन थालेको बताएका छन्। बुधबार बिहान मदन-आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी मन्त्री र नेता तिम्बती शरणानार्थी शिविरमा पुगेर भेट्ने गरेको बताएका हुन्।
उनले भने, ‘ जतिबेला एमसीसी पास गर्यौं, एसपीपी सम्झौता पनि गर्न खोजिएको थियो त्यतिबेला। त्यसपछि अहिले अमेरिकी मन्त्री, नेता, सेनाको झुण्ड आउँदैछन्, सेक्युरिटि हेर्ने मन्त्रीसहित आउँछन्। नेपाल किन आकर्षित भयो उनीहरुलाई ? सबैभन्दा पहिले तिम्बति शरणार्थी शिविरमा पुग्छन्, किन ? के स्वार्थ छ त्यहाँ ? त्यहाँबाट फर्केर हाम्रो देशको गृहमन्त्री भेटेर परिचय कार्ड बनाउन दबाब दिन्छन्। विदेशी दबाब बढेको बढ्यै छ।’
राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखेल बढेको उल्लेख गर्दै उनले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने बताए। उनी देशभक्त नेता भएको टिप्पणी गरे।
उनले नेपालमा वामपन्थी मिल्नै नचाहेको बताए। उनले वामपन्थी मिल्ने हो भने केन्द्र र सातै प्रदेशमा बहुमत हुने धारणा राखे।
पूर्वप्रधानमन्त्री खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सहि ढंगले टुंगोमा पुर्याउनुपर्ने बताए। ‘यो काण्ड राष्ट्रघाति हो, मानवबेचविखन हो, अपराध हो।’उनले भने,‘देशका ठूलाठूला माछा बल्छिमा पर्दैछन्। तर जोगाउने प्रयास हुँदैछ भन्ने सुनिन्छ। चाँडै अनुसन्धान हुनुपर्छ।’
उनले नेपाल प्रहरीका अनुसन्धान गर्ने अधिकारीमाथि कसैले दबाब दिन नहुने धारणा राखे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)