अबको नागरिक सपना
देश हाँक्ने पात्रको सही बाटो नपाउँदा नागरिकले त्यसको परिणाम भोग्नुपर्ने हुन्छ।
आँखाभरि आँसु लिएर मेरो मागको सम्बोधन होस् भन्दै आज छैटौं दिनमा पनि माइतीघर मण्डलाको सडकमा खुला आकाश हेर्दै आमरण अनशन जारी राखेकी छु। म आजबाट महिनावारी पनि भएकी छु। मेरो यो युद्धमा सबैले साथ दिनुहोला !’ पति र परिवारबाट पीडित पात्र हुन् बिनु यादव। सत्याग्रही उपनाम राखेर सत्यको पक्षमा लडिरहेकी उनले अन्यायका विरुद्ध आमनागरिकसँग यसरी याचना गरिरहेकी छन्। घरेलु हिंसा, यौन हिंसा र जबर्जस्ती करणीजस्ता गम्भीर अपराधविरुद्ध यसरी बिनुले उठाएको आवाज कम्तीमा मधेस प्रदेशका सबै पीडित महिलाको हो, बढीमा देशभर यसरी नै शोषित महिलाको पनि हो।
यथार्थ पनि त्यही नै हो कि पीडा र अपमान सहने होइन। किनकि स्वतः पाउने अधिकार नपाएपछि र उल्टो शारीरिक एवं मानसिक पीडामा रातदिन डुब्नु परेपछि प्रतिवाद गर्नुको विकल्प पनि हुन्न। सार्वजनिक रूपमै यसरी गरिएको प्रतिवादले नजिर कायम हुनेगरीको परिणाम दिनेछ। देश तिम्रोमात्र होइन, मेरो पनि हो। संघीयता थपिएको लोकतान्त्रिक देशमा हरेक सरकारमा हरेक नागरिकले आफ्नोपन पाउनुपर्छ। ‘सरकारहरू’ले ‘सरोकारहीन’ हुन मिल्दैन। बिनु र डा. गोविन्द केसीजस्ता आमरण अनशनमा बस्न बाध्य नागरिक आमसमस्याका प्रतिनिधिमात्र हुन्। नागरिक र तिनका परिवारभित्रका यस्ता समस्या नै हुन्, देश विकासका बाधक, समृद्धिका बाधक। जबसम्म सरकार र सरकारहरू निर्वाचनताका मत माग्न घरघर पुगेजस्तो ‘नागरिक’सम्म पुग्दैनन्, तिनका दुःख आफ्ना ठान्दैनन्, तबसम्म विकास र समृद्धिमा नागरिक जोडिन सक्दैनन्।
‘...यस्ता भ्रष्टैभ्रष्ट, ठगैठग, चोरैचोरको बिगबिगी भएको देशमा अब पो झन् के देखिएला र ! निष्पक्ष मूल्यांकन त न राजाको पालामा हुन्थ्यो न अहिले नै !’ एक नागरिकको सामाजिक सञ्जालमा पोखिएको यो यथार्थले ऐना जसरी मुलुकको वास्तविकता छर्लंग्याएको छ। भन्नै पर्दा नेपालका राजनीतिक दलहरूको दृष्टि उज्यालो छैन। दलीय नेता धमिलो पानीमा माछा मार्ने दाउमा थिए र छन्। जति पनि काण्ड र प्रकरण भए, भइरहेका छन्, तिनमा मुछिएकाहरूबाट कसरी उज्यालोको आशा गर्न सकिन्छ ? नेपाललाई विश्वमा सगौरव नेपाल भन्ने बनाउन दलबीच सहकार्य आवश्यक छ। भ्रष्टाचारको जालो कसरी र कहाँसम्म बेरिएको छ, त्यो आगामी दिनले बताउला। यत्ति हो, नेपालबाट भ्रष्टाचारको जरो नउखेलुञ्जेल विकास र समृद्धि सम्भव छैन भन्ने पुष्टि भइसकेको छ।
बालेन, हर्क, रविजस्ता उदीयमान युवा नेताले पाएको जनताको साथ र पुराना नेताले पाएको नागरिकको घृणाबाट अब सबैले पाठ सिक्नैपर्ने भएको छ। संसारलाई जोड्ने र तोड्ने बोली नै हो भनेजस्तै आम नेपालीलाई जोड्ने एउटै कडी छ, त्यो हो नेताको कार्यशैली। कार्यशैलीले कुनै नेतालाई आकाश चुम्न सक्ने साथ पाउला र कसैलाई धरतीको धुलो बनाउने अवस्था पनि निम्त्याउला। भएको पनि यही छ आजसम्म। अहिलेका प्रकरण र काण्डहरूमा मुछिएका र मुछिनेवाला सबैलाई दलहरूले नच्याप्ने हो भने दुईवटा फाइदा हुनेछः एक, दललाई नागरिकको साथ हुनेछ र दोस्रो, दलहरूले स्वयंलाई शुद्धीकरण गर्न सक्नेछन्। होइन भने ‘लेटिन’कै अवस्था हुन सक्छ। सन् २०१६ देखि लगातार तीन वर्ष विश्वमै सर्वाधिक कार उत्पादन गर्ने र बिक्री गर्ने कम्पनी लेटिनले समयसँगै फेरिँदो जनचाहना अनुरूप अध्यावधिक हुन नसक्दा टाट पल्टिएको थियो। नेताको नियति पनि त्यस्तै हुने देखिएको छ। त्यस्ता नेताले गलत बाटो रोजेकाले सफलतामा केवल ‘घमण्ड’ गर्न सक्लान् तर आमनागरिकले ती नेतामाथि ‘गर्व’ गर्न सक्दैनन्।
नेताको वास्तविकता बुझेरै गायक पशुपति शर्माले गाएका थिए, ‘लुट्न सके लुट...।’ वास्तविकता पचाउन नसकेर प्रतिबन्ध लगाइयो तर नेताहरूले आफ्ना गलत बेथितिलाई प्रतिबन्ध लगाउनु पर्छ भनेर सोच्नेसम्म गरेनन्। सत्य बोल्नेको जित त होला तर अन्त्यमा। वर्तमान त झुट बोल्ने र झुट व्यवहार गर्नेकै हो कि झैं देखिएको छ। सत्य बोल्नेलाई या पत्याइँदैन वा उल्टै खैरो उतार्ने काम हुन्छ र नेपालले समग्रमा गति लिन सकेको छैन। तथ्यांकहरू विश्लेषण गर्ने हो भने निराश हुने ठाउँ प्रशस्त छन् अहिले। तर, गर्न सके नेपालमा ‘सम्भावनाको संसार’ पनि छ। कृषिदेखि आईटीसम्म, सडक सञ्जालदेखि हवाई सञ्जाल, पूर्वाधारदेखि पर्यटनसम्म, ऊर्जादेखि अध्यात्मसम्म सबै सबै क्षेत्रमा फराकिलो सम्भावना छ नै। ‘डेडिकेटेड’ नेतृत्व भए सबै ‘सम्भव’ पनि छ। त्यस्तै पात्र चुनौं र तिनैलाई तन र मनले आमनागरिकले सघाउँ।
देश हाँक्ने पात्रको सही बाटो नपाउँदा नागरिकले त्यसको परिणाम भोग्नुपर्ने हुन्छ। जस्तै, देश हाँक्नुपर्ने दलहरू भ्रष्टाचारमा लिप्त भइदिँदा घाँडो भइरहेका छन् अर्बौं खचिएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरू। सरकारमा पुग्ने हरेकजसो दलीय नेतालाई सत्ता कसरी टिकाउने र कहाँबाट कसरी के के फाइदा लुट्नेजस्ता स्वार्थमा लुटपुटिँदा आन्तरिक समस्यासमेत चिर्न सकेका छैनन्। सानो उदाहरण, यी दुई विमानस्थलको ऋण ५२ अर्बभन्दा बढी छ भने अर्कोतिर उपयोगमा ल्याउन नसक्दा ऋणको गलपासो बढ्दो छ। यस्तै अनेक समस्याको सामनामात्र गरिरहने तर निर्माण, उत्पादन, निर्यात र परिणाम देखिने काम नगर्ने हो भने केही वर्षमै नेपाल भारतको बिहार र उत्तर प्रदेशभन्दा पिछडिन बेर छैन।
नक्कली भुटानी शरणार्थी प्रकरणलगायत प्रकरणै प्रकरण, काण्डैकाण्ड मच्चिने देशका हामी नागरिकले उच्च पदस्थ नेताहरूबाट अबको भविष्य कस्तो बनाउँलान् भनेर सोच्नु ? विगतको जगमा उभिएर वर्तमानलाई विश्लेषण गर्ने हो भने सुन्दर भविष्यको परिकल्पना गर्नु पनि ‘कुरी कुरी’ लाग्ने काम गर्नुमात्र हो। संघीय होस् वा स्थानीय, सरकारको नेतृत्व गर्ने जनप्रतिनिधि नेपालकै सही, विश्वकै उदाहरणीय बन्न सकोस्। कामना। नेपालमा अबका दिनमा अन्डाको कथाको अवस्था नहोस्। कथाको सार यस्तो छ, ‘श्रीमान् घर फर्कंदा श्रीमतीले फ्राई गरेको अन्डा दिइछन्। श्रीमान्ले प्रश्न गरेछन्, अन्डा किन फ्राई गरेको ? मलाई त उमालेर दिएको भए हुन्थ्यो। अर्को दिन श्रीमतीले घर फर्किएका श्रीमान्लाई उमालेको अन्डा दिइछन्। श्रीमान्ले हिजोभन्दा बढी आक्रोश पोखेछन्– किन उमालेको ? अन्डा त मलाई फ्राई गरेर दिनुपथ्र्यो।