प्रदेशसभाबाट पारित भएको चिठ्ठा व्यवस्थापन सम्बन्धि विधेयक प्रदेश प्रमुखद्वारा फिर्ता
वैशाख १२ गतेको प्रदेशसभा बैठकले सर्वसम्मत रुपमा पारित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुख कार्यालयमा पेश गरेको थियो।
हेटौंडा : बागमती प्रदेशसभाबाट पारित भएको चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयकलाई प्रदेश प्रमुखको कार्यालयले फिर्ता पठाएको छ। आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’फिर्ता पठाएका हुन्। 
विधेयकमा कानूनी तथा प्राविधिक त्रुटी र अधिकांश शब्द संयोजनहरुसमेत नमिलेकाले नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनर्विचार हुन आवश्यक देखिएको भन्दै सन्देशसहित विधेयक प्रदेशसभामा फिर्ता पठाइएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शिव चौलागाईंले जानकारी दिए।
सो विधेयक गएको वैशाख १२ गतेको प्रदेशसभा बैठकले सर्वसम्मत रुपमा पारित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुख कार्यालयमा पेश गरेको थियो। बागमती प्रदेशमा पहिलो पटक प्रदेश प्रमुख कार्यालयले विधेयक प्रदेशसभामा फिर्ता पठाएको हो।
प्रतिक्रिया दिनुहोस !