शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग ३४ बुँदे सम्झौता

बाजुरा : जिल्लाको बुढिगंगा नगरपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग ३४ बुँदे सम्झौता गरेको छ।
नगरपालिकाले विद्यालयको शिक्षामा गुणस्तर बढाउन नगरपालिकाअन्तर्गतका सबै विद्यालयका प्रधानाध्यापकसँग करार सम्झौता गरेको हो।
नगरपालिका २९ विद्यालयका प्रधानाध्यापकसँग ३४ बुँदे करार सम्झौता गरिएको नगर प्रमुख रामबहादुर बानियाँले बताए।
गत शैक्षिक सत्रको कक्षा ५ र कक्षा ८ को परीक्षामा सिकाइ उपलब्धी अध्ययन गर्दा ३ प्रतिशत मात्रै रहेको पाइएपछि नगरपालिकाले यस वर्ष त्यसलाई ३० प्रतिशतमा पुर्याउन विशेष योजनाअन्तर्गत काम गरिरहेको नगर प्रमुख बानियाँले जानकारी दिए।
सम्झौता अनुसार विद्यालयले आफ्नो शैक्षिक क्यालेन्डर बनाउनु पर्ने छ । प्रधानाध्यापकले शिक्षकसँग एक वर्षकै लागि सम्झौता गरेर निश्चित जिम्मेवारी दिनु पर्ने ३४ बुँदे सम्झौतामा उल्लेख छ ।
सम्झौतामा कक्षा ८ को जिपिए २.५ भन्दा बढी पुगाउने, सबै कक्षाको सिकाइ उपलब्धि ५० प्रतिशतभन्दा बढी पुगाउने र विद्यालयले सूचना अधिकारी राख्ने सर्त रहेका छन् ।
त्यस्तै सम्झौतामा विद्यालयले गाउँ टोलमा अभिभावक शिक्षा दिनुपर्ने, कक्षामा बालमैत्री बसाई बनाउने, गुणस्तर सुधारको अवस्था बारे त्रैमासिक र अर्धवार्षिक रूपमा समीक्षा गर्ने, परीक्षा इकाई बनाउने, अभिभावक भेला तीन/तीन महिनामा गर्ने, विद्यालयको भौतिक, आर्थिक अभिलेख दुरुस्त राख्ने, त्रैमासिक, दोस्रो त्रैमासिक र वार्षिक परीक्षाको नतिजा प्रतिवेदन दिने लगायतका बुँदा रहेका छन्।
गत आर्थिक वर्षमा पालिका स्तरीय परिक्षामा ५ र ८ कक्षामा ६ विद्यालयको नतिजा शून्य थियो भने ६ वटा विद्यालयबाट १ जना विद्यार्थी मात्र पास भएका थिए।
प्रतिक्रिया दिनुहोस !
