डाँडाबजार फुटबल क्लबलाई चौथो फाक्सिव गोल्डकपको उपाधि

धनकुटा : चौथो फाक्सिव गोल्डकपको उपाधि डाँडाबजार फुटबल क्लबले जितेको छ।
साँगुरीगढी गाउँपालिका-४ फाक्सिव खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा हात्तिटार स्पोटिङ क्लब राजारानीलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै डाँडाबजार फुटबल क्लबले उपाधि जितेको हो।
उपाधिसँगै डाँडाबजारले नगद १ लाख रुपैयाँ सहित ट्रफी हात पार्यो भने उपविजेता बनेको राजारानीले नगद ५० हजार रुपैयाँ र ट्रफीमा चित्त बुझायो। डाँडाबजारको जितमा सन्दीप लिम्बुले खेलको ५, २०, ४३, ५६ र ६० औं मिनेटमा गरी एक्लैले ५ गोल र विपिन लिम्बुले २९ औं मिनेटमा एक गोल गरे।
त्यस्तै राजारानीको लागि सान्त्वना गोल दिलकुमार लिम्बुले गरे। उनले खेलको ३० औं मिनेटमा गरेका थिए। एक पक्षीय खेलमा डाँडाबजारले सुरुवातदेखि नै राजारानीलाई दवावमा राखेको थियो। जसको कारण फराकिलो गोलअन्तरले उपाधि जित्न सफल भयो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डाँडाबजारका सन्दिप लिम्वु घोषित भए। उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे। त्यस्तै प्रतियोगिताभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ता लिम्बु नै घोषित भए। सर्वाधिक गोलकर्ता बापत नगद २ हजार रुपैयाँ प्राप्त गरे।
त्यस्तै उत्कृष्ट गोलकिपर डाँडाबजारका रोशन कार्की घोषित भए र उनले पनि २ हजार रुपैयाँ प्राप्त गरे। फाइनल खेलको म्यान अफ द म्याच डाँडाबजारका उमेश कार्की घोषित भए र नगद १५ सय रुपैयाँ प्राप्त गरे।
विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, वडा नम्बर५ का वडाध्यक्ष खड्ग लिम्बु लगायतले पुरस्कार वितरण गरेका थिए।
सोही अवसरमा प्रतियोगिताको दोस्रो पुरस्कार सौजन्य गर्ने धरान उपमहानगरपालिका-१५ निवासी हाल वेलायत काराललमा बस्ने राजकुमारी थेगिम लिम्बुलाई सम्मान गरिएको थियो।
सम्मानित व्यक्ति बेलायतमा रहेकाले उनको तर्फबाट उनका भाई देवेन्द्र थेगिमले सम्मान पत्र ग्रहण गरेका थिए। गाउँपालिका अध्यक्ष जितेन्द्र राईले सम्मानपत्र प्रदान गरेका थिए।
बेलायत निवासी राजकुमारी लिम्बु एलस आङ्दिबे परिवारवाट दिंवगत छोरी स्वर्गीय सुश्री सजिना आङ्दिम्बे लिम्बुको स्मृतिमा दोस्रो पुरस्कार बापत नगद ५० हजार प्रायोजन गरेका थिए।
फाक्सिव फुटबल क्लबको आयोजनामा गत १० गतेदेखि सुरु भएको प्रतियोगिता संचालनको लागि साँगुरीगढी गाउँपालिका, ४ नम्बर वडा कार्यालय र विभिन्न देश तथा विदेशमा रहेका फुटबलप्रेमी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
