बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
सुन्नुहोस्

मकवानपुर : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। 

संविधानको प्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत् प्रदेशको भूमिकालाई थप प्रभावकारी बनाउन संघ सरकार तथा स्थानीय सरकारसँग सहकार्य र समन्वयलाई मजबुत बनाउँदै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ।

आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउन स्थानीय तहलाई प्रोत्साहन गर्ने, सामुदायिक, सहकारी, निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूको नियमनलाई प्रभावकारी तुल्याउने सरकारको लक्ष्य रहेको प्रदेश प्रमुख शर्माले बताए। 

त्यस्तै मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलाई विस्तार गरी समुदाय स्तरमा पुर्याउनुको साथै किशोरीहरूलाई पाठेघरको क्यान्सरबाट बचाउन संघ सरकारको समन्वयमा एचपीभी खोप लगाउने व्यवस्था मिलाउने, महिलाहरूमा हुने स्तन क्यान्सरको पहिचान गर्न शैलजा आचार्य महिला क्यान्सर परीक्षण अभियान सञ्चालन गर्ने उल्लेख छ। 

प्रदेशको गौरवको आयोजनाको छनौट गर्ने मापदण्डको तर्जुमा तयारी गरी बहुवर्षीय तथा क्रमागत आयोजना तोकिएको समयभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको शर्माले बताए। 

‘सार्वजनिक खर्चमा मितव्ययिता, स्रोतसाधन परिचालनमा दक्षता र विनियोजन कुशलता अभिवृद्धि गरी बजेटको परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्दै उत्पादन मुलक लगानी अभिवृद्धि गर्ने सरकारको नीति रहेको छ’ शर्माले भने। 

पुँजी निर्माण, उत्पादन र उत्पादकत्व बृद्धि गर्दै रोजगारीका अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने नीति अवलम्वन गर्दै योजना तथा कार्यक्रमको न्यूनतम लागत निर्धारण गरी सोभन्दा कमका आयोजनाहरू स्थानीय तहमा पठाइने नीति सरकारले लिएको छ। 

नीति तथा कार्यक्रममा अल्पसंख्यक, लोपोन्मुख, अति सीमान्तकृत, दलित र आर्थिक रूपमा विपन्न समुदायका छात्रछात्राको पहुँच अभिवृद्धि गर्न विशेष कार्यक्रम संचालन गरिने भनिएको छ।

त्यस्तै प्रदेश सरकारले बाँझो जग्गाको सदुपयोग गर्न वैज्ञानिक नीति तयार गरी करार खेती कार्यक्रमलाई निरन्तरता दिने, प्रदेशमा खेती भइरहेका रैथाने जातको बालिको पहिचान, प्रयोग, संरक्षण र प्रवर्द्धन गर्दै उत्पादन, उपभोग तथा बजारीकरण गर्ने भनिएको छ। 

नीति कार्यक्रममा प्रदेशभित्रका जातजातिको मातृभाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गरिनुका साथै तामाङ र नेपाल (नेवारी) भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा विकास गर्न कानून तर्जुमा गरिने उल्लेख छ। 

खरको छानामुक्त बागमती प्रदेश अभियानलाई विस्तार गरिने, पेट्रोलियम पदार्थमा रहेको अत्यधिक निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन सरकारवालाहरूसँग समन्वय र सहकार्य गरिने नीति रहेको प्रदेश प्रमुश शर्माले बताए। 

बागमती प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी बन्द रहेको काठमाडौं–हेटौंडा रज्जुमार्ग (रोपवे) लाई यात्रु तथा मालसामान ओसारपोसार गर्ने गरी पुनःनिर्माण गरिने समेत उनले बताए। 

जेष्ठ १७ गते बस्ने प्रदेश सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.