पाँच पटक म्याद थप्दा पनि भएन लोकमार्ग कालोपत्रे

पाँच पटक म्याद थप्दा पनि भएन लोकमार्ग कालोपत्रे
सुन्नुहोस्

ढोरपाटन : साँढे दुई दशक अगाडि ट्रयाक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते-घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्रे हुनसकेको छैन। 

विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्रे हुन सकेको छैन। 

निर्माण कम्पनीले पटक-पटक म्याद थप्दै काम नगर्दा यहाँका स्थानीय मर्कामा परेका छन्। यस खण्डअन्तर्गत पर्ने २५ किलोमिटर मध्ये हालसम्म १४ किलोमिटर मात्रै कालोपत्रे भएको छ। 

वर्षौँदेखि सडक कालोपत्रे नहुँदा सडक वरपरका स्थानीय र यात्रुले हिउँदमा धुलो र बर्खामा हिलोका कारण सास्ती भोग्दै आएका छन्। सडकको काठेखोला गाउँपालिका-५ र ६ का दर्जनौँ स्थानीय विस्थापितसमेत भएका छन्। 

विसं २०७३ मा सम्झौता गरेर कालोपत्रेका लागि दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको लोकमार्ग कार्यालयले जनाएको छ। कार्यालयका अनुसार माथिल्लो बिहुँ खण्डमा कालोपत्रे गर्न एपिएस सिएफ इसिसी जेवी र तल्लो खण्डको भरत सिद्धिशाही जेभीले जिम्मा लिएको थियो। 

माथिल्लो खण्डमा काम गर्ने म्याद असार ५ गते र तल्लो अक्षते खण्डको असार २० गतेसम्म छ। बिहुँ खण्डमा निर्माण कम्पनी बेलाबेला सम्पर्कविहीन हुँदा काम हुनसकेको छैन। 

सडकमा काम गर्ने मजदुर र उपकरण निकै न्यून हुँदा असार अन्तिमसम्म काम सक्ने सम्भावना नरहेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका इञ्जिनीयर पवन सुवेदीले बताए।

उनका अनुसार तल्लो खण्ड अन्तर्गत बागलुङ बजारदेखि अक्षतेसम्म कालोपत्रे गर्ने र सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने काम भएको छ। 

इञ्जिनीयर सुवेदीले काम गर्नका लागि निर्माण व्यवसायीलाई ताकेदा गरे पनि अटेरी गरिरहेको बताए। निर्माण व्यवसायीले काम नगर्दा यात्रुले दुःख पाउनुका साथै आफूहरूलाई पनि समय-समयमा दबाव आइराख्ने उनको भनाइ थियो। 

हालसम्म निर्माण कम्पनीले पाँच पटक म्याद थपेको इञ्जिनीयर सुवेदीले बताए। गत पुसमा निर्माण कम्पनी सम्पर्कविहीन भएको र कार्यालयले ठेक्का किन नछोड्ने भनि सूचना प्रकाशन गरेपछि सम्पर्कमा आएर काम गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए। त्यस बेला काम सुरु गर्ने भने पनि अहिलेसम्म कामलाई निरन्तरता दिन नसकेको भन्दै असार २० गतेसम्म काम सम्पन्न नभए ठेक्का सम्झौता रोक्ने र विकल्प खोजिने सुवेदीले बताए। 

इञ्जिनीयर सुवेदीका अनुसार हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ। तल्लो खण्ड आठ किलोमिटर र माथिल्लो छ किलोमिटर सडकमा काम भएको इञ्जिनीयर सुवेदीले बताए। 

स्थानीय कृष्णप्रसाद कँडेलले सम्बन्धित निकायले चसो नदिँदा ठेकेदार कम्पनीले काम गर्न आलटाल गरिरहेको बताए। उनले २५औँ वर्षदेखि सडक छेउमा घर भएका नागरिकले सडकको हिलो र धुलो पन्छ्याएर दिन बिताउने गरेको गुनासो पोखे। 

सुरुमा सडक आउँदा निकै खुसी लागेको स्थानीय कँडेलको भनाइ थियो। उनले सडकले सुविधा दिने, जनजीवन फेरिने, व्यापार व्यवसाय गर्न सहज हुने स्थानीयको आशा निराशामा बदलिएको भन्दै हिलो र धुलोका कारण स्वास्थ्यमा समेत समस्या आउन थालेको बताए। 

लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ। हालसम्म एक सय ३१ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। सडकको दुरावस्था हुँदा दुर्घटनाको जोखिम बढेको चालक रेमबहादुर विकले बताए। ठाउँठाउँमा ठूलाठूला खाल्डाखुल्डी हुँदा गाडी बिग्री रहने र यात्रा गर्नै कठिन हुने उनले गुनासो पोखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.