वृद्ध महिलाहरूको स्कुल पढ्ने रहर
सुनवल (नवलपरासी) : घरमा नाति नातिनासँग रमाउने उमेरमा सुनवल–१ न्यूरोडकी ७६ वर्षीया शान्ति लक्ष्मी श्रेष्ठ अहिले स्कुल भर्ना भएर पढ्न थालेकी छन्।
सामान्य अक्षर चिनेकी श्रेष्ठको २० वर्षको उमेरमा बिहे भएको थियो। पाल्पा हुमिनको एक विद्यालयका प्रधानाध्यापकसँग श्रेष्ठको बिहे भएको हो। त्यसबेला गाउँघरमा छोरी मानिसलाई पढाउनुपर्छ भन्ने सोंच कमै भएका कारण पढ्न नसकिएको श्रेष्ठको भनाइ छ। ‘बिहेपछि श्रीमानले पढ भनेर कर लगाउनुभयो। बुहारी मान्छे घरका केही भन्लानकी भनेर पढिनँ। विस्तारै बालबच्चा हुन थाले, पढ्ने धोको अधुरै रह्यो। बाँकी जीवन बालबच्चा हुर्काउँदैमा बित्यो,’श्रेष्ठकले विगत सम्झदैं भनिन्।
अहिले आएर यो उमेरमा आफू बच्चा भएर पढ्न आएको उनले बताइन्। ‘नपढी नहुने रहेछ। बैंकमा खाता खोल्न होस् या सहकारीमा रकम जम्मा गर्न होस्। पहिला चिनेका अक्षर पनि बिर्सन थालेको र अक्षर फुटाल्न नसक्दा समस्या भएर पढ्न आएकी हुँ,’ श्रेष्ठले भनिन्।
श्रेष्ठ मात्र होइन सुनवल–१३ बडेराकी ६८ वर्षीया झविकला पौडेल पनि विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। ‘जागिर खानलाई मात्र पढ्ने होइन रहेछ। सामान्य कामका लागि नपढी नहुने रहेछ,’ पौडेलले भनिन्। आफू विद्यालय भर्ना भएर पढ्न थालेपछि मोबाइलमा नाम सेभ गर्नसमेत जानेको उनले बताइन्। ‘पहिला आफ्नै छोरा छोरीले फोन गर्दा कस्ले गर्यो भन्ने लाग्थ्यो। अहिले अक्षर चिनेपछि नम्बर हेरेर कस्ले गर्यो भन्ने थाहा पाउँछु। सेभ पनि गर्न जाने। सबैभन्दा बढी नाती नातिनाको माया बढी हुँदो रहेछ। फुर्सद भयोकी उनीहरूलाई फोन लगाइहाल्छु,’ पौडेलले भनिन्। नेपाली मात्र होइन, अहिले अंग्रेजी अक्षर पनि फटाफट चिन्न थालेको भन्दै बैंकमा जाँदा अंग्रेजी अक्षर पढेर अरूलाई सुनाएको उनले सुनाइन्।
श्रेष्ठ र पौडेल दुवै जना कक्षा ४ मा भर्ना भएर पढ्न थालेका हुन्। उनीहरू जस्तै सुनवलका धेरै महिलाहरू सुनवल नगरपालिकाले सञ्चालन गरेको महिला विद्यालयमा गएर पढ्न थालेका छन्।
महिला मेयर भएको सुनवल नगरपालिकाले स्थानीय लुम्बिनी माध्यमिक विद्यालयमा महिलाहरूका लागि कक्षा सञ्चालन गरेको हो। ‘लुम्बिनी समता महिला विद्यालय’ नाम दिएर महिलाहरूका लागि पढाइ सुरु गरिएको हो।
विद्यालयमा कक्षा ४, ५, ८ र १० कक्षाको पढाइ हुने गरेको छ। कक्षा ४ पढ्दै गर्दा विवाह गरेकी सुनवल–१३ बडेराकी ५० वर्षीया रेखा बस्यालको पढ्ने धोको बल्ल मेटिने भएको छ। उनी कक्षा ५ मा भर्ना भएर पढ्न थालेकी छन्। ‘पढ्ने सपना अधुरै हुँदा बिहे भयो। यो उमेरमा आएर पढ्ने मौका मिल्छ भन्ने लागेको थिएन,' बस्यालले भनिन्।
पहिला पढेका अक्षर पनि बिर्सदै गएको र अहिले पढ्न पाउँदा सहज भएको उनले बताइन्। बिहान ११ बजेदेखि ३ सम्म पढाइ हुने उक्त विद्यालयमा ४५ देखि ७६ वर्षसम्मका महिलाहरू पढ्न आउने गरेका छन्। उमेर समूह मिल्दो जुल्दो भएकाले पनि पढ्न सहज भएको उनीहरूको भनाइ छ।
विद्यालयमा अन्य विद्यार्थीका लागि पनि पठन पाठन हुने गरेको छ। छात्र छात्राहरू १० बजे आएर कक्षा कोठामा गइसकेका हुन्छन्। महिलाहरूका लागि भने सोही विद्यालयमा ब्लक छुट्टाएर पढाउँदै आइएको छ। महिलाहरू ११ बजे कक्षा कोठामा पुगिसकेका हुन्छन्। बिहान घरको काम सकिने र साँझ घर काम सुरु हुने समयलाई ध्यान दिएर पढाइको व्यवस्था गरिएको हो।
महिलाहरूलाई ३ बजेसम्म पढाउने गरिएको छ। निःशुल्क पाठ्यपुस्तकसहित उनीहरूलाई अध्यापन गराउन ६ जना शिक्षक/शिक्षिकाको व्यवस्था गरिएको छ। पढ्न आउने सबै महिलाहरूमा पढाइप्रतिको लगन देखेर आफू छक्क परेको शिक्षिका लक्ष्मी ज्ञवालीले बताइन्।
१० कक्षाका लागि छुट्टै ब्लक र अन्य कक्षाका लागि छुट्टै ब्लकमा पढाउँदै आएको उनले बताइन्। चार कक्षामा भर्ना भएका महिलाहरूलाई पढाउन केही समस्या भएको ज्ञवालीको अनुभव छ।
१० कक्षामा भर्ना भएकाहरू एसईईमा सहभागी हुने भएकाले उनीहरूलाई पढाउन सहज भएको ज्ञवालीले बताइन्। महिलाहरूलाई स्थानीय पालिकाले लागू गरेको ‘हाम्रो सुनवल’ पाठ्यपुस्तकसहित नेपाली, अंग्रेजी, विज्ञान, गणित, सामाजिक, स्वास्थ्य र शारीरिक शिक्षा गरी आठ विषयमा अध्यापन गराउँदै आइएको छ।
दैनिक ६ वटा कक्षा सञ्चालन हुँदै आएको छ। महिलाहरूलाई पढाउन महिला शिक्षक प्रयाप्त नभएकाले पुरुष शिक्षकहरूले पनि पढाउँदै आएका छन्।
वैशाख १५ गतेबाट पढाइ सञ्चालन गरिएकोमा १८० जना भर्ना भएर नियमित अध्ययन गर्न आउने गरेको विद्यालयले जनाएको छ। अन्य २५० जना पनि पढ्न आउनका लागि सम्पर्क गरेको विद्यालयले जनाएको छ। आफ्नै भाडा लगाएर पढ्न आउने महिला विद्यार्थीहरूले नगरपालिकाले बसको व्यवस्था गर्न नगरपालिकासँग माग गरेका छन्।
सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले आफू नगरमा निर्वाचित हुने बित्तिकै महिला विद्यालय सञ्चालनको सोँच बनाएअनुसार पढाइ सुरु गरेको बताइन्।