हत्याकै लागि बीमा

बीमा अभिकर्ता र कर्मचारी थुनामा

हत्याकै लागि बीमा
सप्तरी जिल्ला अदालत । तस्बिर : मनोहर पोखरेल

राजविराज : सप्तरीमा बीमा रकम हत्याउन भएको एक युवकको हत्यामा संलग्न रहेको आरोपमा बीमा अभिकर्ता र कर्मचारी पुर्पक्षका लागि कारागारमा थुनामा परेका छन् । उक्त घटनामा बीमा कम्पनीकी शाखा प्रमुख र मनी ट्रान्सफरका सञ्चालकसँग अदालतले पाँच/पाँच लाख रुपियाँ धरौटी मागेको छ ।

जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलाशले सप्तरीको कञ्चनरुप नगरपालिका–९ निवासी एनआइसी एशिया लघुबित्तमा कार्यरत रही सिटिजन लाइफ इन्स्युरेन्सका बीमा अभिकर्ता श्रवण सरवरिया र सोही इन्स्युरेन्समा कार्यरत सप्तरीको खडक नगरपालिका–३ बनरझुलाका सुर्यनारायण चौधरीलाई बिहीबार कारागारमा पठाएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

उक्त घटनामा सिरहाको लहान नगरपालिका–६ निवासी नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय कञ्चनरुपकी प्रमुख रीताकुमारी साह र कञ्चनरुप नगरपालिका–२ बदगामा निवासी तेजमनी ट्रान्सफर एण्ड ट्रेडर्सका सञ्चालक एवम् नेपाल लाइफ इन्स्योरेन्सका विमा अभिकर्ता शंकरकुमार गुप्तासँग अदालतले जनही पाँच लाख रुपियाँ धरौटी मागेको छ । 

अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार उक्त हत्या घटनामा तीन जना यसअघिदेखि नै पुर्पक्षका लागि कारागारमा थुनामा छन् । कञ्चनरुप नगरपालिका–३ का ३७ वर्षीय शिवशंकार दासको हत्या आरोपमा निजकी श्रीमती ३० वर्षीया कोशिलादेबी दास, भाउजु नाताकी शान्तिदेबी दास र बुहारी पर्ने हिरणदेबी दास गत वैशाख ११ गतेदेखि थुनामा छन् । उनीहरु चैत १५ गते पक्राउ परेका थिए ।

घटना अनुसार करेन्ट लागेर कात्तिक ६ गते शिवशंकर दासको मृत्यु भएको भन्दै निजकी श्रीमती कोशिलादेबीले प्रहरीलाई खबर गरिन् । घटनास्थलमा पुगेको प्रहरीले पनि करेन्ट लागेर नै शिवशंकरको मृत्यु भएको भनेर विश्वास गर्‍यो । तर अनुसन्धानका क्रममा पाँच महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक दिपक रायले बताए ।

अनुसन्धानका क्रममा बीमा रकम हत्याउन गरिएको हत्याको रहस्य खुलेपछि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ रायले बताए । प्रहरीले उजुरी दर्ता गरेकै दिन मृतककी श्रीमती, भाउजु र बुहारीलाई चैत १५ गते पक्राउ गर्‍यो । प्रहरीका अनुसार आरोपितहरूले ऋण चुक्ता गर्न योजनाबद्ध तरिकाले शिवशंकरको हत्या गरेको बताए । 

आरोपितहरूको बयान अनुसार घरव्यवहार चलाउन दास दम्पतिले शान्तिदेबीसँग ऋण लिएका थिए । दाउरा बेचविखन तथा मजदुरी गरेर तीन सन्तानसहित पाँचजनाको परिवार पाल्दै आएका शिवशंकरले ऋण तिर्न सकिरहेका थिएनन् । शान्तिदेबीले ऋण चुक्ता गर्न दबाब दिँदै आएकी थिइन् । त्यसक्रममा शान्तिदेबीले नै कोशिलालाई बीमा गरी श्रीमानको हत्या गर्न सुझाएकी थिइन् । 

योजना अनुसार शान्तिदेबीले रकम उपलब्ध गराएपछि घटनाभन्दा दुई महिनाअघि शिवशंकरको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समा २०/२० लाख रुपियाँको बिमा गराइयो । शान्तिदेबीले नै ५ गते साँझ शिवशंकरलाई आफ्नो घरमा बोलाएर मदिरा खुवाएर पठाइन् । मदिराको नशामा मातेर भान्सा कोठामा सुतेका शिवशंकरलाई कोशिलाले बिजुलीको तार बेरेर करेन्ट लगाइन् । करेन्ट लगाउने बेला बुहारी हिरणदेबीले टर्च बालेर सहयोग गरेकी थिइन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.