नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरू

काठमाडौं : नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरू भएको छ । मंगलबार सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु भएको हो। बहस बिहान ११ बजेदेखि सुरू भएको हो ।
प्रतिवादीतर्फका कानुन व्यवसायीलाई बहसका लागि छ दिनको समय दिइएको छ। सरकारी वकिलहरूले प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुन सक्ने तथा जाहेरकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल प्रस्तुत गरेका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि जारी थुनछेक बहस सुरू भएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाइ अभियोगपत्र दायर गरिएको छ ।
सोही प्रकरणमा १८ जना पक्राउ परि हिरासतमा छन् भने १२ जना अझै फरार छन्। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका तथा फरार रहेकासहित ३० जनालाई संगठित अपराध,कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
