गगन थापाको उद्घोष : सत्ताको लागि विचारसँग सम्झौता गर्दैनौं, बरु सरकार छोड्छौं
हेटौंडा : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी दिनमा चुनावी तालमेल मात्रै नभई सत्ताका लागि विचारसँग पनि सम्झौता नगर्ने बताएका छन्। सोमबार मकवानपुर आयोजित कांग्रेसको सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार छोड्नुपरे छोड्ने तर, सत्ताका लागि सम्झौता नगर्ने बताएका हुन्।
उनले भने, ‘बरु सरकार छोड्नुपरे छोड्ने तर, कांग्रेसको लागि विचार र सिद्धान्त सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै त्यसलाई स्थापित गर्नुपर्छ।’
कांग्रेसले सत्ताको लागि अब कुनैपनि दलसँग तालमेल गर्न नहुने बताएका छन्। उनले कांग्रेस विचार प्रधान पार्टी भएकोले आउँदो निर्वाचनमा कुनैपनि राजनीतिक दलसँग सम्झौता नगर्ने नीति लिइएको स्पष्ट पारेका हुन्।
‘चुनावको अगाडि अर्को पार्टीको पक्षमा मत माग्ने कुराले प्रकारान्तरमा त्यसले पार्टीप्रतिको विश्वास डगमगाउने अवस्था बन्दो रहेछ।’ महामन्त्री थापाले भने, ‘ कांग्रेसले भदौमा नीति अधिवेशन गर्छ, नीति अधिवेशनबाट संकल्प गर्नुपर्छ कि, अब कांग्रेसको जीवनमा बरु ५ पटक चुनाव हारे हारिन्छ, वडादेखि केन्द्रसम्म, राष्ट्रपतिदेखि प्रधानमन्त्रीको चुनावमा जस्तोसुकै अप्ठेरो परे पनि, नेपालको तमाम् पार्टी मिलेर एउटै पार्टी बनाए पनि कांग्रेसले तालमेल गर्दैन।’
चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रति गलत धारणा बनेको भन्दै उनले बरु कांग्रेस चुनाव हार्न र सत्ता बाहिरै बस्न तयार रहने स्पष्ट पारे। थापाले भने, ‘हाम्रो इमेज कस्तो बन्यो कि सरकारमा पुग्नका लागि चुनावअघि एउटासँग घाँटी जोड्न पनि पुग्छ, त्यो सरकारमा पुगेन भन्ने रिसमा चुनावपछि अर्कोसँग घाँटी जोड्न पनि पुग्छ। सत्ताका लागि जस्तोसुकै सम्झौता गर्छ भन्ने छवि बन्न पुग्यो, गल्ती जहाँबाट भएको छ, त्यहिँबाट सच्याउनुपर्छ।’
उनले आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको र आत्मविश्वास र आशा गुमाइरहेको भन्दै कांग्रेसले जनताको निराशालाई चिर्ने थापाले प्रतिबद्धता जनाए। ‘हामी निराश हुनुहुँदैन, कांग्रेस आफू जित्न आएको पार्टी होइन, कांग्रेस देशलाई जिताउन आएको पार्टी हो ’ थापाले भने।
प्रतिक्रिया दिनुहोस !