मौरीले बजार पाएन

मौरीले बजार पाएन
म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी खत्रीले गरेको मौरीपालन । तस्बिर : सन्तोष गौतम।
सुन्नुहोस्

बेनी : म्याग्दीका कृषक घारसहितको मौरी बिक्री नहुँदा निराश भएका छन् । घार सहितको मौरी बिक्री गर्न पछिल्लो फागुन–चैतको याममा कृषकले गोलाबाट मह निकालेनन्। 

गोला छुट्टाएर राख्दा महबाट आम्दानी गुमाएका कृषक घार सहितको मौरी नबिक्दा आहराको व्यवस्थापन गर्न नसकेर समस्यामा परेका हुन् । बेनी नगरपालिका–४ सुर्केमेलाको केसी बहुउद्देश्यीय कृषि फार्म तथा मौरीपालन स्रोत केन्द्रका सञ्चालक डिलबहादुर केसीले यस वर्ष घार सहितको मौरी बिक्री अपेक्षित नभएको बताए ।  

‘यसअघिका बर्षमा घार सहितको मौरीको माग धेरै भएकाले यसपाली मह नकिकालेर गोला छुट्टाएर राखेको थिएँ,’ उनले भने, ‘गत वर्ष एक सय घारसहितको मौरी बिक्री भएको थियो । यसपाली मुस्किलले ५० घार बेचेको छु । अझै पचास घार मौरी बेच्न ग्राहकको खोजीमा छु ।’

मौरीपालन गर्ने नयाँ कृषक नथपिएको, स्थानीय तह र कृषि ज्ञान केन्द्रहरुले मौरीपालन सम्बन्धी कार्यक्रम कटौति गर्नु, अस्वास्थ्य प्रतिस्पर्धा, टाढाको बजार खोजी हुन नसक्दा घार सहितको मौरी उत्पादन बढे पनि बजारको अभाव देखिन थालेको हो । 

बेनी नगरपालिका–५ डडुवाका नारायण पौडेलले साविक भन्दा दोब्बर बढी घार संख्यामा मौरी भएपछि चरन क्षेत्रमा आहराको अभाव हुन थालेको बताए । बर्खा याममा पानी धेरै पर्दा मौरी बचाउन समस्या हुने उनको चिन्ता छ । 

पौडेलकहाँ ४० वटा घार सहितको मौरी तयार छन् । म्याग्दीको सुर्केमेला, डडुवा र कुहुँमा चार वटा सेरेना जातको मौरीको स्रोत केन्द्र छन् । सबै स्रोत केन्द्रमा ५०० घार मौरी बिक्रीका लागि तयार भएका कृषकले बताएका छन् । 

स्रोत केन्द्र स्थापना भएपछि म्याग्दीमा बाहिरि जिल्लाबाट मौरी आयात भएको छैन् । मौरीसहितको घार प्रतिगोटा दश हजार रुपैयाँका दरले बिक्री हुन्छ । खाली घारको मूल्य प्रतिगोटा तीन हजार पाँच सय रुपैयाँ छ । 

मौरी निर्यातको लागि बजारको खोजीमा रहेको बेनी नगरपालिका–५ डडुवाको सिद्धिबिनायक मौरीपालन केन्द्रका सञ्चालक रामकुमारी खत्रीले बताइन् । ‘यसपाली घार सहितको मौरी बेच्नलाई ५० घार मौरी छुट्टाएर राखेको छु । बजारको खोजी भइरहेको छ,’ उनले भनिन् ‘मौरी बेच्नलाई मह निकालिएन । मह जति पनि बिक्री हुन्थ्यो । अहिले पछुतो लागेको छ ।’

मौरी बिक्री नभएपछि मह उत्पादनमा केन्द्रित हुने कृषकहरुले योजना बनाएका छन् । प्रतिलिटर मह रु. दुई हजारका दरले बिक्री हुन्छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले स्थानीय तहहरुसँग स्थानीय स्रोत केन्द्रको मौरीको खपत गराउन र हावापानी मिल्ने छिमेकी जिल्लाहरुमा मौरीको बजारीकारण गर्न पहल गरेको बताए । म्याग्दीमा वार्षिक २० हजार लिटरका दरले मह उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.