नेपालको महालेखा परीक्षणमा युएसएआईडीको सहयोग
काठमाडौं : महालेखापरीक्षकको कार्यालयको क्षमतालाई बलियो बनाउन र सार्वजनिक वित्तीय व्यवस्थापनमा पारदर्शिता/जवाफदेहिता सुनिश्चित गर्न अब युएसएआईडी महालेखा परीक्षकको सहयोग जुट्ने भएको छ।
नेपाल सरकारको नीति तथा कार्यविधिको कार्यान्वयनलाई बलियो बनाउने साझेदारहरूको साझा लक्ष्य प्राप्त गर्न युएसएआईडी महालेखापरीक्षक सहयोग परियोजना सुरु गरिएको हो।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)का काउन्सेलर क्लिन्टन ह्वाइटले यो परियोजना शुरु भएको घोषणा गरे।
नेपाल सरकारको महालेखापरीक्षकको कार्यालय र अमेरिकी सरकारको जवाफदेहितासम्बन्धीकार्यालय, सेन्टर फर अडिट एक्सलेन्सबिचको यो महत्त्वपूर्ण साझेदारी जवाफदेहिता अभिवृद्धि गर्न र पारदर्शिता प्रवर्द्धन गर्नप्रति लक्षित रहेको उनले बताए।
काउन्सेलर ह्वाइटले भने, ‘यो परियोजनाले हामीबीचको सहकार्यमूलक साझेदारीलाई झल्काउँछ। जालसाजी पत्ता लगाउने महालेखापरीक्षकको कार्यालयको क्षमतालाई बलियो बनाउछ। सार्वजनिक वित्तीय व्यवस्थापनमा पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ।’
यो सहकार्यले नेपाललाई लेखापरीक्षणको गुणस्तर सुधार गर्नका लागि तालिम तथा प्राविधिक सहायता प्रदान गर्ने बताइएको छ। साथै, प्रशिक्षण तथा परामर्शमार्फत परिणामहरूको प्रभावकारी सञ्चार र दिगो क्षमता अभिवृद्धि गर्ने लक्ष्य समेत लिइएको छ।
यस परियोजनामार्फत युएसएआईडी/नेपाल र अमेरिकी सरकारको जवाफदेहिता सम्बन्धी कार्यालय, सेन्टर फर अडिट एक्सलेन्सले नेपालको शासनमा पारदर्शिता, जवाफदेहिता र निष्ठाकाउच्चतम मापदण्डहरूलाई कायम राख्ने कार्यमा महालेखा परीक्षकको कार्यालय, नेपालको क्षमतालाई बलियो बनाउने उनीहरूको दाबी छ।
अमेरिकी सरकारको जवाफदेहितासम्बन्धी कार्यालय, सेन्टर फर अडिटएक्सलेन्सको विज्ञताको उपयोग गरेर र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूको पालना गरेर यस सहकार्यले नेपालमा सुशासनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
यससँगै काउन्सेलर ह्वाइट नेपालको तीन दिने भ्रमणमा रहने क्रममा विभिन्न सरोकारवालासँग भेट्ने छन। उनले नेपाल सरकार, नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी र व्यवसायीसँग भेटघाट गर्ने, अमेरिका र नेपालबीचको जारी सहकार्य तथा साझेदारीबारे छलफल समेत हुने योजना छ।
प्रतिक्रिया दिनुहोस !