देउतासँग जमिन किन्ने भीसी
हाम्रो बाजेलाई युद्धमा उधुम मच्चाउने साहसी योद्धाको रूपमा कहिल्यै हेरेनौं। उहाँलाई हाम्रो परिवारले मात्र होइन, सारा विश्वले नै निकै सम्मान गर्नेरहेछ।
आधा रातो, आधा हरियो : कालो घेरा भएको बोर्ड। त्यसमा क्रस खुकुरी। त्यसमुन्तिर लेखिएको थियो– रामबहादुर लिम्बू भीसी निवास। केही महिनाअघिमात्र हो, घर आउँदाजाँदा बाटोमै पर्ने एउटा कम्पाउन्डबाहिर त्यो बोर्ड टाँसिएको। त्यो बोर्ड झुन्डिएको देखेपछि छिमेकी भीसीसाहेबबारे थप जानकारी खोज्न गर्वका साथ गुगल गरेँ। बेलायतको सर्वोच्च युद्धपदक ‘भिक्टोरिया क्रस’ प्राप्त गर्ने १३ जनामध्ये रामबहादुर लिम्बू अन्तिम गोर्खा रहेछन्। बोर्नियोमा भएको विद्रोह दबाउने क्रममा सन् १९६५ मा देखाएको उत्साहपूर्ण बहादुरीबापत उनले गौरवको तक्मा भीसी पाएका रहेछन्।
कुनै पनि विश्वयुद्धमा नेपाल सहभागी नभए पनि बेलायती सेनामा भर्ती भएर हजारौं नेपालीले पहिलो र दोस्रो विश्वयुद्धमा विभिन्न देशका लागि बहादुरीपूर्वक लडेका थिए। विश्वयुद्ध लड्नेमध्ये १२ ले भीसी पाए तर रामबहादुरलाई भीसी पदक दिलाउने युद्ध थियो, बोर्नियोको सरवाक युद्ध। इन्डोनेसियाली बिद्रोहीविरुद्धको अप्रेसनका क्रममा १९६५ नोभेम्बर २१ मा उनले दुश्मनमाथि बम र गोली बर्साए। घाइते सहयोद्धाको बहादुरीपूर्ण तरिकाले उद्धार गरे र पाए पदक। पूर्वी नेपालको पाँचथरको याङवरकमा टेकबीर बेघा र टुनीमाया थाम्सुहाङ बेघाको कोखबाट १९९२ साउन २१ गतेका उनको जन्म भएको हो। गोर्खा भर्ती भने उनी सन् १९५७ मा भए जतिबेला उनी खासमा २२ वर्षको थिए भने कागजातमा मात्र १८ वर्ष।
भीसी साहेबको निधन २०८० वैशाख ९ गते भयो। निधनको करिब एक सातापछि मात्र शवयात्रा हुने भयो। त्यसअघि ब्रिटिस गोर्खाज् नेपालमा बिहीबारको तयारी देखेर अचम्म लाग्यो। भुइँमा बाकसले बनाइएको अस्पतालको स्वरूप, घरको स्वरूप र समाधिस्थलको स्वरूप ! सेतो चक्रले कोरिएको बाटो। बाटोमा लाग्ने समय लेखिएको। ससाना गाडीजस्तै देखिने बट्टाहरू। ललितपुरको नखिपोट घरमा मान्छेहरू भेला भइसकेका थिए। टिचिङ अस्पतालमा राखिएको उनको पार्थिव शरीरलाई नखिपोट घरमा आधा घण्टाका लागि ल्याइयो। शव वाहनमै राखेर किराँती गुरुहरूले मन्त्रोच्चारणसहित विधिकर्म पूरा गरे। त्यसपछि भने उनको कफिन बन्दको बन्दै रह्यो।
साहेबको सम्मान कति भने बेलायतबाट राजा चाल्र्स तृतीयको प्रतिनिधि लेफ्टिनेन्ट जनरल रिटायर्ड पिटर पियर्सन सीबी सीबीईको उपस्थिति थियो। ब्रिटिस गोर्खाज् नेपालका कमान्डर कर्नेल पल स्मिथ र डेपुटी कमान्डर लेफ्टिनेन्ट कर्नेल राजेश गुरुङ, गोर्खा मेजर रन्जन बद्गामी। गोर्खा वेल्फेयर ट्रस्ट, नेपाल आर्मी, इन्डियन आर्मी, अस्ट्रेलियाबाट भीसी असोसियनका प्रतिनिधि र रेजिमेन्टका प्रतिनिधि सबै–सबै। ब्रिटिस गोर्खाज् नेपालमा अन्तिम बिदाइपछि कफिनलाई एम्बुलेन्समा राखियो। त्रिभुवन विमानस्थल हुँदै दमक उड्यो आर्मीको स्काइट्रक। र, गरियो विधिपूर्वक अन्तेष्टि।
किराँती गुरुको कुरा : पारिवारिक पूजाले अचम्मित बनायो। सोधेँ, समाधिस्थलको पूजा सम्हालेका गुरु प्रेमबहादुर देवानलाई। यति धेरै पूजाको अर्थ के ? ‘तलको घरमा गरेको पूजाचाहिँ आजदेखि तिमी स्वर्ग गयांै भनेर भीसी साहेबसँग सम्झौता गरेको अनि यो समाधिस्थलमा गरेको पूजा देउतासँग जमिन किनेको। हाम्रो भीसी साहेबलाई बास माग्न गरेको पूजा। यो घडेरी हामीले भीसी साहेबका लागि किनिदिएका छौं भनेर पूजा गरेको।’
नातिनीहरूको भीसी बाजे : मिलिटरी म्यानको अन्तिम शव यात्राको यो भाग दौडमा रसिला आँखा तर पनि जिम्मेवारी बोधका साथ खटिइरहेका दुई युवती। भीसी साहबका जेठो छोरापट्टिकी जेठी र कान्छी नातिनीहरू। उनीहरू एकै जनाले तीनवटा जिम्मेवारी सम्हालेका थिए एकैपटक। आफूभन्दा अघि नै जेठो सन्तान गुमाएका भीसी साहेबको जेठो छोरोको जिम्मेवारी, पति गुमाएकी आमाको पतिको जिम्मेवारी र नातिनी हुनुको आफ्नै जिम्मेवारी।
निनम्माले भीसी साहेबको सम्झनामा सम्बोधन गर्दै भनिन्– आर्मीले उहाँलाई ५०४०७५ भनेर चिन्थ्यो। विश्वले अनररी क्याप्टेन जीसीओ रामबहादुर बेघा लिम्बू भीसी एमभीओ। लिम्बू सबैभन्दा सानै उमेरमा भीसी पाउने गोर्खाली। भीसी साहेब। तर, हामी १० जना नातिनातिना अनि एकजना पनातिनीका लागि हाम्रो बाजे हुनुहुन्थ्यो। हामीलाई माया गर्ने, हाम्रो ख्याल गर्ने अनि हामी सँगसँगै खेल्ने। हामीले सानै हुँदादेखि उहाँलाई भीसी बाजे भनेर बोलाउँथ्यौं। हामीलाई उनको नाम नै भीसी हो भन्ने लाग्थ्यो। उहाँलाई युद्धमा उधुम मच्चाउने साहसी योद्धाको रूपमा कहिल्यै हेरेनौं। तर, जब हामी ठूलो हुँदै गयौं अनिमात्र थाहा हुँदै गयो। हाम्रो बाजेलाई हाम्रो परिवारले मात्र होइन, सारा विश्वले नै निकै सम्मान गर्नेरहेछ। भीसी भनेको भिक्टोरिया क्रस हो भन्ने बल्ल थाहा भयो। सन् २०१८ मा लन्डनस्थित भीसीजीसी रियुनियनमा बाजेसँगै बकिंघम प्यालेस जाँदा महारानी एलिजावेथलाई भेट्ने मौका जुरेको थियो। उहाँले बहिनी र मलाई हेर्दै बाजेलाई तपाईंका नातिनीहरू साह्रै राम्री भन्नुभएको थियो। अनि बाजेले पनि शानले अफकोर्स योर म्याजेष्टि भन्नुभएको आजै जस्तो लाग्छ।
बेलायती राजाको प्रतिनिधि : बेलायती राजा चाल्र्सका प्रतिनिधिका रूपमा नेपाल आएका जनरल पिटर पियर्सन टेन जी आर। नेपाली पनि मज्जाले बोल्न जान्ने। गोर्खा ब्रिगेड भीसीविहीन भएकोमा आफूलाई खल्लो लागेको छ भने। तर, पनि भविष्यमा गोर्खाली भीसीहरू थपिनेमा भने उनी आशावादी रहेछन्। सन् १९७६ मा पहिलोपटक भीसी साहेबलाई भेटेको सम्झिए उनले। एउटै रेजिमेन्टमा थिए, पिटर साहेब अनि भीसी साहेब।
भर्ती हुन जाँदाको कथा : भर्ती भएपछि हामी केही कलकत्ताबाट सान्थिया नामको पानीजहाजमा गयौं। १० दिन १० रातमा मलाया पेनाङ बन्दरगाहमा उत्रियौं। हामीले लुगाफाटा, आर्मी नम्बर सबै पक्लिहवामा नै पाइसकेका थियौं। पेनाङ पुगेसी हामीलाई सिंगाइपटानी टे«निङ सेन्टर लैजान गाडीको लस्कर रै’छ। सिंगाइपटानी पुगेपछि खाने, बस्ने, टे«निङ सेन्टर सबै घुमाए। अनि सुरु भयो टे«निङ।
मेरो पल्टन जोहरबारुमा थियो। मलेसिया त्यो बेला बेलायतको उपनिवेश थियो। गोर्खालीको आडमा बेलायत औपनिवेशिक शासन निरन्तरता दिन सफल भइरहेको थियो। मेरो पल्टन कम्युनिस्टहरूले स्वतन्त्रताका लागि सञ्चालन गरेको ‘गुरिल्ला बार’मा खटिएको थियो सन् १९६९ मा। ‘गुरिल्ला बार’ छेडेका मलायन कम्युनिस्ट पार्टीको मलायन नेशनल लिबरेशन आर्मीको अवस्था कमजोर थियो। हामी सन् १९६५ मा बोनिर्योको सरवाकमा युद्धका लागि होमियौं।
इन्डोनेसियन सैनिकको डिफेन्स बोनिर्योको एउटा डाँडामा बसेको थियो। ब्रिटिस गोर्खाको सेकेन्ड टेन बटालिन ‘सी’ कम्पनी, हाम्रो टोलीले २१ नोभेम्बर १९६५ मा उनीहरूलाई हमला गर्ने भयो। बिहानै ३ बजे उठेर गोली गठ्ठा बोकेर गयौं। जंगलमा सीधा जान सक्ने अवस्था थिएन। सुतेर घस्रँदै अघि बढ्यौं। कैंचीले बाटोमा भएको झार, लहरा, ससाना बुट्यान हटाउँदै अघि बढ्यौं। दुष्मन देख्नेबित्तिकै फायर खोल्यौं। अघि बढ्यौं। दुष्मन ट्रेन्च खनेर बसेका रै’छन्। हामी त्यसैमाथि पुग्यौं। त्यहाँसम्म जाँदा हाम्रा साथीलाई गोली लागिसकेको थियो। टाउकोमा गोली लागेको साथी त मैमाथि ढल्यो। मैले झोंकमा हानेको ग्रिनेड त्यही ट्रेन्चभित्र पस्यो अनि पड्कियो। माटो छर्रर उडेर सबै मास्तिर आयो। दुष्मन तितरबितर।
पहिला गोली लाग्ने साथी ऐया... ऐया... भनिरहेको थियो। अर्को साथीलाई टाउकोमै गोली लागेछ। गोली लाग्दा उसले भन्न भ्याएको शब्द भनेको ऐया... उस्ताद... गोली... आफ्ना साथीलाई यस्सै छोडेर हिँड्न सकिनँ। भुँडीमा गोली लागेको साथीलाई तान्दै एकातिर राखेर अर्को मरिसकेको साथीलाई लिन गएँ। उसलाई ल्याउँदा त पेटमा गोली लाग्ने पनि मरिसकेछ। टाउकोमा गोली लागेको साथीको अवस्था भन्न नसकिने छ। त्यो लडाइँमा हाम्रोतिरका ३ जना मरे। दुष्मनहरू २४ जना मरेका रै’छन्। त्यो दिन अहिल्यै जस्तो लाग्छ।
पहिलो कमाइ चालीस रुपियाँ भारु : सन् १९५७ मा गोर्खा भर्ती हुँदा हामी ४० रुपैयाँ भारुमा भर्ती भएका। पक्लिहवामै १०÷१० रुप्पे खर्च दिइएको थियो। १० महिना ४० रुप्पे तनखा खाएको हामीलाई पासिङ आउट परेडपछि त पैसा ७० रुप्पे बनाइदियो। ७० बाट ७५ अनि ७५ बाट ८० त छिट्टै भयो। तर, एउटा सिपाहीको तलब त्याँभन्दा बढेन। १० वर्ष काम गरुञ्जेल नि त्यति नै भयो। तर,
मेरो पेन्सन आउने बेलाअघिको अन्तिम महिनाको तलब युकेको ६०० पाउण्ड थियो। कर तिर्दा त ४५० जति आउँथ्यो।
भीसी तक्माद्वारा सुशोभन : १२ जुलाई १९६६ मा बकिङ्घम प्यालेसमा बेलायतकी महारानी एलिजाबेथले बेलायती सर्वोच्च युद्धपदक भिक्टोरिया क्रस (भीसी) तक्मा लगाइदिइन्। उनले सन् १९८५ मा जीसीओ क्याप्टेन दर्जामा अवकाश पाएका थिए। त्यसअघि नै उनलाई पत्नीवियोग परेको थियो।