एउटाले बिदा गरेको अजयलाई अर्को अस्पतालले बचायो

एउटाले बिदा गरेको अजयलाई अर्को अस्पतालले बचायो
उपचारपछि घर फर्कनु अघि अस्पतालमा अजय मण्डलसहित चिकित्सक ।
सुन्नुहोस्

राजविराज : उपचारका क्रममा बाँच्न नसक्ने भनी घर फर्काइएका बालक सात महिनापछि निको भएर शुक्रबार घर फर्किएका छन्। घटना हो राजविराजको। राजविराजस्थित छिन्नमस्ता अस्पतालमा सात महिनाको सघन उपचारपछि अग्निसाइर कृष्ण सवरन गाउँपालिका–४ का १२ वर्षीय अजय मण्डल घर फर्किएका हुन्। गाउँपालिकाले लिन पठाएको एम्बुलेन्समा राखेर अजयलाई आमा नर्मदा मण्डल र छिमेकी निर्मला खड्काले घर लिएर गए। 

‘जापनिज इन्सेफ्लाइटिसका कारण सिकिस्त बिरामी भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएका बालकलाई अस्पतालले पाँच दिनसम्म उपचार गर्‍यो’, अजयकी आमाले स्मरण गर्दै भनिन्, ‘अन्तमा अस्पतालले बालक बाँच्दैन, खर्च गरेर फाइदा नभएकाले घर लैजानु भन्यो।’ कात्तिक ७ गते लक्ष्मी पूजाकै दिन बालक बिरामी परेका थिए। अस्पतालले नबाँच्ने भन्दै घर फर्काएको हल्ला सुनेपछि गाउँले सबै उनको मृत्युको भयमा थिए। बालक छटपटिएको, मडारिएको र शिथिल भएको सबैले टुलुटुलु हेर्न बाध्य थिए। 

आर्थिक रूपले अति विपन्न अजय चार वर्षको हुँदै उनका बुवाको मृत्यु भइसकेको थियो। अजयभन्दा दुई वर्ष कान्छो उनको भाइ राजन छन्। रामप्रसाद मण्डलको क्षयरोगका कारण मृत्यु भएपछि नर्मदाले सहाराका लागि फिरँगीसँग विवाह गरिन्। फिरँगीसँगको सहयात्रा पनि लामो रहेन। एक धुर जमिन पनि नभएकी नर्मदा माँगेर गुजारा चलाउँछिन्। गाउँघरमा चन्दा माँगेर नै उनले छोरा बचाउन धरान लगेकी थिइन्। उक्त अस्पतालले पनि फर्काएपछि निराश भएर पाँचौं दिन छोरासहित उनी घर फर्किन्।

बालकको मृत्यु निश्चित भएको ठानी उनको दाहसंस्कारको तयारी थालियो। घर परिवार र छिमेकीमा रुवाबासी मच्चियो। बालक अजयको मृत्यु भएको जानकारी पाएपछि परिवारलाई समवेदना दिन र ‘मृतक’प्रति श्रद्धाञ्जलि अर्पण गर्न वडा नम्बर ६ का वडाध्यक्ष तेजनारायण यादव घर पुगे। उनले शरीर चलेको चाल पाएपछि तत्कालै राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याए। सो अस्पतालमा कात्तिक १२ गते भर्ना भएका अजय सात महिनाको निरन्तर उपचारपछि अहिले मानिस चिन्ने, सहारामा हिँड्न सक्ने अवस्थामा पुगेका छन्।

कुँजो भएर गम्भीर समस्या देखिएपछि अजयलाई अस्पतालले ‘आईसीयू’ र ‘भेन्टिलेटर’मा राखेर उपचार गर्‍यो। सात महिनामा अस्पताल र औषधिको खर्च १२ लाख रुपैयाँ पुगेको अस्पतालका सञ्चालक शैलेन्द्र मोहन झाले बताए। गाउँपालिकाले भने अहिलेसम्म तीन लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ। मानवताकै आधारमा उपचार खर्चका लागि ताकेता नगरेको तथा चिकित्सक र नर्सहरूले उपचारलाई निरन्तरता दिएको झाको कथन छ।

अग्निसाइर कृष्णसवरन गाउँपालिकाका अधिकांश वडा अध्यक्षहरूको प्रतिबद्धताअनुसार गाउँपालिकाले उपचार खर्च बेहोर्ने विश्वासमा उपचार गरिएको अस्पताल व्यवस्थापकले जनाएको छ। अस्पतालका व्यवस्थापक दीपेन्द्र यादवका अनुसार बालकको परिवारको अवस्था र जनप्रतिनिधिको विश्वासमै उपचार गरिएको हो।

उपचारका लागि छिन्नमस्ता अस्पताल भर्ना गर्दा अजयको स्वास्थ्य अवस्था निकै जटिल थियो। ‘बचाउन पनि चुनौतीपूर्ण थियो, श्वासप्रश्वासमा समस्या, हातखुट्टा शिथिल तथा अचेत अवस्थामा थिए’, उपचारमा संलग्न डा. मुकुन्द देवले भने, ‘सात महिनाको निरन्तर प्रयासपछि अहिले निकै सुधार आएको छ, उनी बोल्न र सहारामा हिँड्डुल गर्न सक्ने अवस्थामा पुगेका छन्।’

बालकको उपचारमा सबैभन्दा नजिकबाट संलग्न ‘आईसीयू इन्चार्ज’ अमन चौरसिया पनि उपचारले आश्चर्यजनक परिणाम ल्याएको बताउँछन्। उनका अनुसार केही महिना ‘फिजियोथेरापी’ गर्न सकेमा राम्रोसँग हिँड्डुल गर्न उनी सक्छन्। बालकको शरीरको सबै भाग चलायमान बनाउन उनलाई ‘फिजियोथेरापी’ र पोषणयुक्त खाना जरुरी रहेको डा. माधव देव बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.